बिर्तामोड
स्नूकर खेलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक जितेका अंकितमान श्रेष्ठ ‘रेगन’ लाई बिर्तामोड स्नूकरले सम्मान गरेको छ ।
बिर्तामोड स्नूकर हाउसमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो । बिर्तामोड स्नूकरका संचालकहरु खेम बुढाथोकी , नवल अग्रवाल , व्याडमिन्टन संघ झापाका अध्यक्ष प्रकाश लिङ्देनलगायतले खादा ओढाएर उनलाई सम्मान गरेका थिए ।
सन् २०२५ मा श्रीलंकाको कोलोम्बोमा भएको तेस्रो साग प्रतियोगितामा बुटवलका श्रेष्ठले तेस्रो स्थान हासिल गरी पहिलो पटक अन्तर्राष्ट्रिय पदक जितेका थिए । बिर्तामोड स्नूकरका संचालक खेम बुढाथोकीको अध्यक्षता तथा अन्तर्राष्ट्रिय पदक विजेता श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्याडमिन्टन संघ झापाका अध्यक्ष लिङ्देनले साग प्रतियोगितामा पदक जितेर श्रेष्ठले नेपाल र नेपालीको गौरव कायम गर्न सकेकोमा बधाई दिए ।
कार्यक्रममा बोल्दै सम्मानित श्रेष्ठले स्नूकर खेललाई सरकारले खासै प्राथमिकता नदिएको गुनासो गरे । उनले स्नूकर खेलको विकासको लागि सरकारले पहल गरे यसको पनि भविष्य राम्रो रहेको धारणा राखे ।