आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटी डेढ महिनादेखि अस्पतालमै छन् । अदालतले पुर्पक्षको लागि थुनामा पठाए पनि उनी भने एक महिनादेखि अस्पतालको भीआईपी कक्षमै बसेर दिन बिताइरहेका छन् ।
गत पुस २२ गते जिल्ला अदालत झापाले उनलाई पुर्पक्षका लागि झापा कारागार चलान गरेको थियो । तर, नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर सिवाकोटी एक दिन पनि कारागार बसेका छैनन् ।
उनी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेपछि पनि हिरासतमा बसेका थिएनन् । मंसिर २४ गते पक्राउ परेको दिनदेखि नै उनी बिर्तामोडस्थित बीएन्डसी अस्पतालको भीआईपी क्याबिनमा बसिरहेका छन् । ‘राजनीतिक पहुँच र शक्तिको आड’मा हिरासत र कारागार नगई अस्पतालमै बसेको पीडित पक्षको गुनासो छ ।
सिवाकोटीको अस्पताल बसाइबारे मंगलबार प्रदेशसभा बैठकमा पनि प्रश्न उठेको छ । झापाकी सांसद सविना बजगाईंले अदालतको आदेशमा कारागार पठाइएका व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा अस्पतालमै राखिएको भन्दै उनले आपत्ति जनाइन् । ‘राजनीतिक पहुँचको आडमा विभिन्न बहाना बनाएर सिवाकोटीलाई अस्पतालमै राखिएको छ,’ उनले भनिन्, ‘यसबाट पीडित पक्ष चिन्तित छन् । सानालाई ऐन ठूलालाई चैन भनेजस्तो भएको छ ।’ बजगाईँ राप्रपा सांसद हुन् ।
२०७४ सालमा बुवाआमाको मृत्यु भएपछि सहाराविहीन भएकी भारतको आसाम बस्ने बालिकालाई उनकी हजुरआमाले सिवाकोटीको घरमा राखेकी थिइन् । नातिनीको लागि सहयोग माग्दै उनकी हजुरआमा २०७४ मा नगरपालिका पुग्दा भर्खरै मेयरमा निर्वाचित भएका सिवाकोटीले आफ्नै घरमा राखेर पढाउने भन्दै जिम्मा लिएका थिए ।
‘मेरो हजुरआमाको आर्थिक अवस्था एकदमै कमजोर भएकोले नगरपालिकाबाट केही राहत र सहयोग पाइन्छ की भनेर हजुरआमाले मलाई साथमा लिई बिर्तामोड नगरपालिकाको कार्यालयमा लिएर जानुभयो,’ पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ
उनले सिवाकोटीलाई बुवा भनेर सम्बोधन गर्दै आएकी थिइन् । तर, बालिकालाई सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उललेख छ । कक्षा ६ मा पढ्दादेखि नै सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितले बयान दिएकी छन् । सिवाकोटीकी श्रीमती विदेश गएको बेला बलात्कार गरेको र कसैलाई सुनाएमा घरबाट निकालिदिने धम्की दिएको पीडितको भनाइ छ ।
स्कूलमा फी तिर्न र कापीकिताब किन्न पैसा माग्दा पनि सेक्स गर अनि मात्रै दिन्छु भनेपछि आफू बाध्य भएको पीडितले बताएकी छन् । सिवाकोटीले पोर्न भिडियो देखाएर आफूमाथि बलात्कार गरेको उनले बयानमा दिएकी छन् । ५ सय रुपैयाँ दिएरसमेत शिवाकोटीले बलात्कार गरेको उनको बयान छ । पटक–पटक बलात्कारमा परेपछि पीडित बालिका गत मंंसिर २४ गते बिहान कलेज जान्छु भनेर सिवाकोटीको घरबाट निस्किएर भारत जान हिँडेकी थिइन् ।
ठुलीआमा भारतको आसममा बस्ने भएकोले उतै जाने सोच बनाएर हिँडेकी उनलाई काँकडभिट्टाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । त्यसपछि सोधखोज गर्दा बलात्कारको पीडा सहन नसकेर उनी भारत जान खोजेको खुलेको थियो । पीडित किशोरी हाल १५ वर्षकी भइन् ।
संस्थाकै सहयोगमा पीडितले जाहेरी दिएपछि सिवाकोटी पक्राउ परेका थिए । तर, बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयर भने हिरासत नगई अस्पतालकै भीआईपी कक्षमा बसेका छन् । उनी अस्पताल बसेपछि निगरानीको लागि चार जना प्रहरी अस्पतालमा खटाउनु परेको छ ।
झापा कारागारका खरिदार नारायण गौतमका अनुसार सिवाकोटीको निगरानीका लागि चार जना प्रहरी अस्पतालमा राखिएको छ । अदालतमा सिवाकोटीले आफू बिरामी भएको बताएपछि इजलासले उपचारको व्यवस्था गर्नु भन्ने आदेश दिएको थियो । त्यही आदेशमा टेकेर सिवाकोटीले कारागार छलिरहेको आरोप छ ।
सिवाकोटीले २३ वर्षदेखि प्रेसर र ३७ वर्षदेखि सुगरको बिरामी भएको बयान दिएका थिए । पीडित किशोरीका आफन्तले भने सिवाकोटी सत्ता र शक्तिको आडमा हिरासत र कारागार नबसी अस्पतालमै बसिरहेको आरोप लगाउँदै आएका छन् ।
आरोपीलाई राज्यले संरक्षण गरेको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएका थिए । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत डिल्लीराम लम्सालले पीडित परिवारबाट उजुरी आएको बताए । तर, त्यसबारे थप बुझ्ने काम भैरहेको उनले बताए । साभार https://lokaantar.com/