बिर्तामोड : झापाको बिर्तामोड ३ स्थित सैनिकमोडका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको छ ।  खाद्य स्वच्छताबारे जनचेतना जगाउन तथा उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गराउने उद्देश्यले आज पसल तथा होटलको अनुगमन गरिएको हो । 

 खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाको अगुवाई , बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ झापा, अस्थायी प्रहरी चौकी बिर्ताबजारको असई सहित सरोकारवाला निकायको समन्वयमा आज आइतबार अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा केही होटल तथा रेष्टुरेन्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टा, लगायत म्याद गुज्रेका अखाद्य बस्तु भेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र ओस्तीले जानकारी दिए । 

pic 555

उनले होटलहरुमा प्रयोग गरिरहेको खाने तेल परीक्षण गर्दा अखाद्य) भेटिएको बताए । सैनिकमोड आसपास क्षेत्रका होटलहरुमा तेलमा तारेर बनाइने खानेकुराहरु बनाउन प्रयोग गर्ने तेलमा गुणस्तरको मात्रा नै नभएको अर्थात् अखाद्य भेटिएको उनले जानकारी दिए । 

 त्यस्तै होटल, रेष्टुरेन्ट र केही पसल दर्ता नगरिकन सञ्चालन गरिएको, म्याद सकिएका पेयपदार्थहरु बिक्री वितरण गरेको, म्याद सकिएका सामान पसलको ¥याकमा  बिक्री गर्न राखेको, मूल्यसुची नटाँसको जस्ता कमीकमजोरीहरु पाइएको र त्यस्ता कमजोरीलाई सुधार गर्न निर्देशन दिइएको बिर्तामोड नगरपालिका अधिकृत पदमराज घिमिरेले जानकारी दिए । 

picccc 87

होटलहरू सफाइका हिसाबमा अझै सुधार हुन नसकेको अनुगमनका क्रममा देखिएको थियो । अनुगमनमा अधिकांश होटलहरूका भान्सा फोहोर भेटिएको होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । त्यस्ता होटललाई सुधारका लागि आग्रह गरिएको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले जानकारी दिए ।

नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता बिषयमा गम्भिर बन्न होटल सञ्चालकलाई अनुगमन समितिले आग्रह गरेको थियो । अनुगमनका क्रममा भेटिएका त्यस्ता म्याद गुज्रेका बस्तु टोलीले नष्ट गरेको छ । बिर्तामोड नगरपालिकाका उप प्रमुख अनुगमन समितिको संयोजक रहने गरी सरोकारवाला सहितको बिर्तामोडमा यस अघि नै अनुगमन समिति निमार्ण गरिएको छ ।