झापा M जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा धमाधम सिकाउन थालेको छ ।
विद्यालयमै पुगेर तथा कार्यालयमै पनि विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिरहेको कार्यालय प्रमुख गणेश पौडेल बताउंछन् ।

यसै क्रममा आज आइतबार कार्यालय परिसरमै युरो किड्स स्कुलका साना नानी बाबुहरुलाई प्रहरीले ट्राफिक नियमका बारेमा जानकारी दिएको छ ।

_1736908732.jpg)
विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख पौडेलले बताए ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको प्रहरीले विद्यार्थीलाई अबगत गराएको छ ।
ट्राफिक नियमको अभावमा साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैदान्तिक र व्यवहारिक ज्ञान सिकाइएको प्रहरी प्रमुख पौडेलको भनाई छ ।
‘सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा सडक बत्तीलाई हेर्दै के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरु विद्यार्थीलाई डमीको रुपमा बनाइएको सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिइएको हो ।’
विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको प्रहरी प्रमुख पौडेल बताउंछन् ।
प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिरहेको पौडलको भनाई छ ।