झापा : झापामा ५५ हजार बालिका तथा किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ ।
एचपीभी खोप अभियानबारे आज सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
पहिलो चरणमा खोप अभियान शुरु हुन लागेको बताउँदै उहाँले अर्को वर्ष सबै स्वास्थ्य चौकीबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने बताउनुभयो । क्यान्सर लागेको लामो समयपछि मात्र थाहा हुने भएकाले परीक्षण अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
माघ २२ गतेदेखि २९ गतेसम्म जिल्लामा सञ्चालन हुने यो अभियानमा कक्षा–६ देखि कक्षा–१० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइनेछ ।
झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र, सात सय ८१ जना स्वास्थ्यकर्मी र एक हजार पाँच सय १५ जना स्वयम्सेविका परिचालन हुनेछन् । सात सय ५५ खोप केन्द्रमध्ये पाँच सय ५७ विद्यालय एक सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो ।
झापाको मेचीनगर नगरपालिकामा सात हजार ६४ जना, बुद्धशान्ति गाउँपालिकामा तीन हजार एक सय ७९, अर्जुनधारा नगरपालिका तीन हजार छ सय ४९, कनकाई नगरपालिकामा तीन हजार ९९, शिवसताक्षी नगरपालिकामा तीन हजार आठ सय ७८, कमल गाउँपालिकामा दुई हजार सात सय ४४, दमक नगरपालिकामा छ हजार पाँच सय २३, गौरादह नगरपालिकामा तीन हजार एक सय १९, गौरीगञ्ज
गाउँपालिकामा दुई हजार ५०, झापा गाउँपालिकामा दुई हजार ३५, बाह्रदशीमा एक हजार नौ सय ९५, बिर्तामोड नगरपालिकामा सात हजार पाँच सय ६३, हल्दिबारी गाउँपालिकामा एक हजार आठ सय छ, भद्रपुर नगरपालिकामा ती हजार आठ सय ५३ र कचनकवल गाउँपालिकामा दुई हजार चार सय ४२ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तनपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनि दुई हजार एक सय ६९ जना हुने गरेको जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले प्रस्तुतीकरण दिँदै तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन
सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
ह्युमन पापिलोमा भाइसर (एचपीभी) को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक रहेका छन् । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य करक एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणको लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० वर्षदेखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने, ३० देखि ३९ वर्षका महिलाको क्यान्सर परीक्षण र पाठेघरको मुखको क्यान्सर निदान भएका
महिलाको उपचार गर्ने तीन वटै सेवाको ‘कभरेज’ कम्तिमा ९० प्रतिशत हासिल गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख बाराकोटीले बताउनुभयो ।
“विश्व स्वास्थ्य संगठनले यो रोगलाई जनस्वास्थ्य समस्याको रुपमा नरहेको अवस्थामा पु¥याएर निवारण गर्ने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो, “नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामको रणनीति जसअनुसार यो रोगको नयाँ बिरामी प्रति एक लाख महिलाहरूमा प्रतिवर्ष चार भन्दा कम संख्यामा सीमित राख्ने लक्ष्य रहेको छ ।”
पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपीभी खोप समावेश गर्न सिफारिस गरेअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय खोप सल्लाहकार समितिको उक्त सिफारिस कार्यान्वयन गर्न निर्णय गरेको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा सात वटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइ सकिएको छ ।
ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमित व्यक्तिको यौनाङ्गको छाला, म्युकस मेम्ब्रेन, यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्छ ।
यो रोग मुख्य गरेर उक्त भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
अभियान अन्तरग हाल प्रयोग गर्न लागिएकोे खोप सेकोलिन खोप हो । यसले प्रजाति १६ र १८ का कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरण गर्न प्रभावकारी रहेको अध्ययनले देखाएको छ । यो खोप एक मात्रा मात्र दिइन्छ ।
विश्वमा महिलाहरुमा हुने क्यान्सरमध्येमा चौथो मुख्य क्यान्सरको रुपमा रहेको देखिएको छ । विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष ३ लाख ११ हजार (५५ प्रतिशत) जना महिलाको मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार विश्वमा कूल बिरामी मध्ये ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू तथा मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशहरूमा देखिएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था झापाका अध्यक्ष अम्बिका पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारोकाटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खोप अधिकृत राजकुमार पोखरेलले गर्नुभएको थियो ।