अर्जुनधारा : झापाको अर्जुनधारा नगरपालिका वडा नं १० का महिलालाई धुप बनाउने तालिम प्रदान गरिएको छ । अर्जुनधारा नगरपालिकाको ५० हजार रुपैयाँ आर्थिक सहयोग र जलकन्या महिला समूह अर्जुनधारा–१० को आयोजनामा यहाँका ४० जना महिलालाई धुप बनाउने तालिम दिइएको हो । माघ १३ गतेदेखि शुरु भएको तालिम आज सम्पन्न भएको छ । महिलालाई आत्मनिर्भर बनाउनका लागि व्यावसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम दिइएको जलकन्या महिला समूहकी अध्यक्ष गीता न्यौपानेले बताउनुभयो ।
कार्यक्रम प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले महिलाहरु घरको चुलाचौका मात्र सीमित नभई आय आर्जनमा समेत सहभागी हुनुपर्नेमा जोड दिनुभयो । महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने नगरपालिकाको योजना अनुरुप धुप बनाउने तालिम दिइएकाले सिकेको सीपलाई अधितम् व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो ।
तालिम समापन कार्यक्रममा विशेष अथिति अर्जुनधारा–१० नम्बर वडा अध्यक्ष भुपेन्द्र नेउपाने, अथिति १० नम्बर वडा सदस्य सीता परियार लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै तालिमले सहभागीलाई आत्मनिर्भर बन्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक सकुन्तला बरालले धुप बनाउने तालिम दिनुभएको थियो ।