काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधिन पाथीभरादेवी मुकुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङ जिल्लाका सांसद भट्टराईले यस्तो माग गरेका हुन् ।
सांसद भट्टराइले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भएपनि शान्तिपूर्वक र सभ्य हुनुपर्ने बताए । सांसद भट्टराईले केवलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्नेमा जोड दिए ।
परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह भट्टराइले आग्रह गरेका छन् । उनले सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरु रिहा गरी घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गरेका छन्।
केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरी सर्वपक्षिय समिति निर्माण गर्नुपर्ने भट्टराइको भनाई छ ।
सांसद भट्टराईले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारवाहीलाई सहभागीतामुलक तथा पारदर्शी ढंगले अघि बढाउन माग गरेका छन् । केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने भट्टराइको भनाई छ ।
सांसद भट्टराईले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने र रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग पनि गरेका छन् ।
उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको उल्लेख गरे । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने प्रतिवद्धता पनि भट्टराईले जनाएका छन् ।