काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानसहित विधेयक दर्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुने महासङ्घको भनाइ छ ।
महासङ्घलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन विज्ञप्तिमा उल्लेख छ ।ujyaloonline.com