खेर गइरहेको अलैंचीको रेशाबाट बिभिन्न घरायसी सजावट सहित बहुउपयोगी सामग्री निमार्ण गरेर ताप्लेजुङ–२ फुङ्लिङ्गकी माया गुरुङले मनग्ये आम्दानी गरिरहेकी छन् । 

हातमा सिप र जाँगर भए खेर गइरहेको बस्तुलाई प्रयोग गरेर पनि आत्मनिर्भर संगै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण गुरुङ्ले प्रस्तुत गरेकी हुन् । 

कालो सुनको रुपमा परिचित अलैंची बिक्री गरेर धेरैले जीवनस्तर परिवर्तन गरिरहेका बेला मायाले भने अलैंचीको रेशाबाट पनि उपयोगी सामग्री बनाउन सकिन्छ भन्दै त्यस तर्फ खोजविन गरिन । खेर गएको अलैंचीका बोटलाई सदुपयोग गरेर नाम संगै दाम कमाएकी  मायालाई अहिले उद्योगी बनाएको छ ।

२०६७ सालबाट अलैंचीको रेशाबाट हस्तकलाका सामग्री तयार पार्दै आएकी मायाले अहिले उद्योग नै सञ्चालन गरेर १५ जनाभन्दा बढीलाई रोजगारी समेत दिलाएकी छिन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गमा नै उद्योग सञ्चालन गरिरहेकी मायाले ६८ हजारबाट आफ्नो व्यवसाय शुरु गरेकी थिइन् । उनले अहिले अलैंचीको रेशाबाट तयार हुने ६० प्रकारमा हस्तकलाका सामग्री तयार गर्दै वार्षिक ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेकी छिन् । मायाले सञ्चालन गरेको घरेलु उद्योगमा उत्पादित सामग्री राजधानी काठमाडौं सहित विदेशमा समेत निर्यात हुने गरेको छ ।

अलैंचीको रेशाबाट हस्तकलाका सामग्री तयार गर्ने नेपालकै पहिलो घरेलु उद्योग स्थापना गरेकी मायाले आफ्नै विवेक र लगनशिलता प्रयोग गरेर हस्तकलाका सामग्री निर्माण गरेको उनले बताइन् । उनी आफूले आफ्नै विवेक प्रयोग गरेपनि अहिले उद्यमशिलता सम्वन्धि तालिम समेत प्रदान गर्ने गरेको बताउँछिन् । उद्योगमा आएका महिलाहरुलाई सिप मुलक तालिमसँगै व्यवसाय प्रर्वद्धनका लागि प्रोत्साहन गर्दै आएको मायाको भनाइ छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै सहयोग नलिएकी मायाले सञ्चालन गरेको घरेलु उद्योगबाट घरमा प्रयोग हुने सामग्रीसहित ठूला तारे होटलमा प्रयोग गर्न मिल्ने सामग्री समेत उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

उनले अलैंचीको रेशाबाट बस्न प्रयोग गरिने मुडा, चप्पल, लेडिज हेण्ड व्याग, पर्स, प्लेस म्याट, टि टेवल म्याट लगायतका ६० भन्दाबढी सामग्री उत्पादन गर्दै आएकी छिन् । आफ्ना आमाबुवाले अलैंचीको रेशाबाट दाम्लो बाटेको देखेपछि अलैंचीको रेशालाई सही उपयोग गर्न सके अन्य सामग्री समेत तयार गर्न सकिन्छ भन्ने प्रेरणाका साथ घरेलु उद्योग सञ्चालन गरेको मायाको भनाइ छ ।

मायाले उत्पादन गरेका सामग्रीहरु पूर्वी नेपालका विभिन्न क्षेत्रमा लाग्ने महोत्सवहरुमा लैजाने गरेकी छिन् । जुन सामग्री आकर्षणको केन्द्र बन्ने गरेको छ । बिर्तामोडमा माघ ८ गतेबाट जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा समेत उनले आफ्नो स्टल राखेकी छिन् । यहाँ पनि उनले तयार पारेका सामग्रीहरुको अवलोकन गर्नेहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

अलैंचीको रेशाबाट तयार भएका सामग्रीहरु बलियो र भरपर्दो भएको उनको भनाइ छ । अलैंचीको फल टिपिसकेपछि खेर गएका बोटलाई भेला पारेर रेशा बनाइन्छ । त्यसैलाई प्रयोग गर्दै हस्तकलाका सामग्रीहरु निर्माण गर्ने गरेको मायाको भनाइ छ । स्थानीय तहसँगै, प्रदेश र संघीय सरकारले समेत सहयोग गरेमा अलैंचीबाट उत्पादित सामग्रीलाई युरोपियन मुलुकहरुमा समेत निर्यात गर्न सकिने उनको भनाइ छ ।

अलैंचीको रेशाबाट उत्पादित सामग्री आकर्षक र टिकाउ मात्र नभई केमिकलरहीत भएकाले स्वास्थ्यका हिसावले समेत राम्रो हुने उनको भनाइ छ ।