झापा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् ।
झापाको बिर्तामोडमा आज आइतबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि विद्युतीय रेलमार्गलाई सरकारले अगाडि बढाउने बताए ।
रेल प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न स्रोत सुनिश्चितताको विषय उठिरहेका बेला मन्त्री दाहालले यस विषयमा अर्थ मन्त्रालयसँग कुराकानी भएको उनको भनाई छ ।
सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने जनाउँदै चार वर्षअघिदेखि झापा, मोरङ र सुनसरीका सर्वसाधारणको जग्गा रोक्का राखेको छ ।
रेल प्रभावित क्षेत्रका बासिन्दाले सरकारले मुआब्जा नदिए आफ्नो जग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् । स्थानीयको माग सुनवाई गर्दै चरण चरणमा मुआब्जा वितरण गरेर भएपनि रेलमार्ग बनाउने मन्त्री दाहालको भनाई छ ।








































