झापा 

बिर्तामोड नगर खेलकुद विकास समिति आयोजनामा बिर्तामोडमा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

माघ २६ गतेदेखि फागुन ५ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने समितिले आज आयोजित पत्रकार भेटघाटमा जनाएको हो । 

नगर खेलकुद विकास समितिले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । 

उनका अनुसार प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ । प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको प्रचार संयोजक विशाल अग्रवालले जानकारी दिए । 

पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले महिला खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रलाई प्रवद्र्धन गर्दै लैजाने नीतिअनुसार प्रतियोगिता आयोजना गरिएको बताइन । 

उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले महिला खेलाडी उत्पादनका लागि सीप तथा क्षमताको विकासमा लाग्नुपर्ने बेला आएको बताउँदै यस प्रकारका खेलहरूले थप हौसला दिने विश्वास व्यक्त गरे । 

त्यस्तै झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले पछिल्लो समय महिला खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाइरहेकाले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा मद्दत पुग्ने धारणा राखे ।