बिर्तामोड
झापा बिर्तामोड ८ का युवा समाजसेवी चिरञ्जीवी कार्कीले ५६ गरिव तथा निमुखा परिवारलाई खाद्यान्न र न्यानो लुगा वितरण गरेका छन् ।
आफ्ना स्वर्गीय पिता पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको १३ औ दिनको पुण्यतिथि सकेपछि उनले बिर्तामोड ८ का गरिव , असहाय र अपांगहरुलाई एक–एक थान ब्लांकेट , ४–४ केजीका दरले चिनी र आटा , ५ केजी चामल र आधा लिटरका दरले खानेतेल वितरण गरेका हुन् । वडा नं ८ मा रहेको १४ वटा टोलका ४ जनाका दरले सामग्री वितरण गरिएको हो ।
पिताको स्वर्गबासपछि गुरु पण्डितहरुलाई दान दक्षिणा दिएर गर्नुपर्ने धर्मसंगै मानवीय हिसाबले आफूले कर्म निर्वाह गरेको कार्कीले बताए । कार्की गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड ८ बाट वडाध्यक्षको पदमा उठेका थिए ।
उनका पिता साविक गरामनी गाउँ पञ्चायत र गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको माघ ७ गते बेलुका ८१ वर्षको उमेरमा निधन भएको थियो ।