काँकरभिट्टा : मेची उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि व्यवसायीको नाप तौलको परीक्षण सुरु गरिएको छ ।

मेची उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौल्ने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमतिपत्र वितरण र अनुगमनको काम सुरु गरिएको हो ।

माघ २५ गतेसम्म सञ्चालन हुने उक्त कामको पहिलो दिन मेचीनगर–६, काँकरभिट्टा स्थित होटल दुवईल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।

गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरबाट खटिएको डोर टोलीमा कार्यालयका सहायक निरीक्षक अमितकुमार कर्ण, सीमीद्वय विजयनन्द चौधरी र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे रहेका छन् ।

सहायक निरीक्षक कर्णले काँकरभिट्टाका ३० जना व्यवसायीले काँटा, ढक, लिटर, मिटर जाँच गरेर नवीकरण, नयाँ दर्ता र अनुमतिपत्र लिएको बताए ।

भोलि माघ २२ गते मेचीनगर–७, ईटाभट्टा स्थित उत्तम किराना पसल छेउमा डोर टोली खटिने मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए ।

उनका अनुसार व्यवसायीको सहजताका लागि माघ २३ गते संघको सचिवालय धुलाबारी, माघ २४ गते धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउ र माघ २५ गते चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स छेउमा नापतौल सम्बन्धी डोर टोली खटिने छ ।