झापा 

झापाको बिर्तामोडमा अहिलेसम्मकै ठूलो धार्मिक र्याली निकालिएको छ । बिर्तामोड ५ मा नवनिर्मित गायत्री माताको मन्दिरमा प्राण प्रतिष्ठा गर्नुअघि सोमबार बिहान धार्मिक र्याली निकालिएको हो । 

 नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको सहभागितामा निकालिएको र्यालीमा २ हजार बढी सहभागी रहेको आयोजकले जनाएको छ । सहभागीहरुका लागि करिव २ हजार वटा गायत्री माताको झन्डा तयार गरिएको थियो ।

नौमती बाजा, सुरक्षा निकायका ब्यान्ड, सन्थाल नृत्य ,स्काउटसहितको र्यालीमा भक्तजन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो । 

बिर्तामोड ५ स्थित बालाजी टोलमा निर्मित गायत्री माताको प्राण प्रतिष्ठा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । 

गत माघ १७ गतेदेखि शुरु भएको अनुष्ठान सोमबार रातीबाट समापन भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका थिए ।


गायत्री मन्दिर अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । कोशी प्रदेश सरकारको ४० लाख, बिर्तामोड नगरपालिकाको १५ लाख रुपैयाँ र स्थानीय दाताको सहयोगमा तयार गरिएको मन्दिर निर्माण समिति संयोजक रोनक वंशलको भनाई छ ।