बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा एकै दिन ९२ हजार रुपैयाँ सहयोग जुटेको छ । प्रेस चोतारी नेपाल झापाले मंगलवार दोमुखामा आयोजना गरेको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ९२ हजार ५ रुपैयाँ जुटेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ उपचार कोषलाई सहयोग गर्ने घोषणा गर्नुभयो । बिर्तामोडको पार्टी अध्यक्ष, विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल प्रसाईको दुर्घटनामा निधन भएको थियो ।
श्रीमान सामाजिक क्षेत्रसँगै मिडिया क्षेत्रसँग नजिक रहेर धेरै काम गरेको र गर्न बाँकी धेरै कामहरु अपुरो रहेको बताउँदै नगर प्रमुख प्रसाईले स्वर्गीय श्रीमान प्रसाईको नाममा उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
यस्तै, प्रेस चौतारी झापाको १० औं जिल्ला अधिवेशनबाट उपचार कोषको संयोजकमा निर्वाचित भीमा शिवाकोटीले सोही कार्यक्रममा २५ हजार ५ रुपैयाँ सहयोग गर्नुभयो । शिवाकोटीले कोष वृद्धिका लागि आफैबाट अभियान सुरु गर्ने भन्दै संगठनका जिल्ला अध्यक्ष प्रदीप परियारलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई र अनेमसंघ झापाकी कोषाध्यक्ष कोपिला चौलागाईले आफ्नो जन्मोत्सवको अवसरमा ५ हजार नगद प्रदान गर्नुभएको छ ।
कोषमा साढे ४ लाख रुपैयाँ जम्मा भइसकेको छ । उपचार कोषको संयोजक शिवाकोटीले आफ्नो कार्यकालमा १५ लाख रुपैयाँ पुर्याउने घोषणा गर्नुभयो । अधिकांश झापाली पत्रकारहरु सदस्य बनेको उपचार कोषमा संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरुलाई सदस्य बन्न आव्हान गर्नुभएको छ ।
कोषले गत माघ ११ गते सम्पन्न जिल्ला अधिवेशनमा पत्रकार अम्बिका भण्डारी, गगन ढकाल र पुस्कर गुरागाईलाई सहयोग प्रदान गरेको थियो । पत्रकार भण्डारीले प्राप्त सहयोग कोषलाई नै फिर्ता गर्नुभएको संयोजक शिवाकोटीले जानकारी दिनुभएको छ ।