बिर्तामोड । 

दुधको समर्थन मूल्य पाउन नसक्दा झापाका दुग्ध किसान समस्यामा परेका छन् । किसानको हितलाई ध्यानमा राखी मन्त्रीपरिषदले तोकेको समर्थन मुल्य विपरित पुर्वका डेरी उद्योगहरुले मनोमानी गरिरहेको दुग्ध उत्पादक किसानको गुनासो छ । 

बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत दुग्ध उत्पादक संघ झापाले मन्त्री परिषदले तोकेको दुधको समर्थन मूल्य डेरी उद्योगहरुले कायम नगरे त्यसको प्रतिकार गर्ने चेतावनी दिएको हो । 

१५ महिनाअघिदेखि किसानले सरकाले तोकेको समर्थन मुल्य नपाएको बताउंदै त्यस अवधिको क्षतिपूर्ति दिनुपर्ने माग अघि सारिएको संघका अध्यक्ष लक्ष्मी प्रसाद सिटौलाले जानकारी दिए ।   आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । 

मन्त्री परिषदले २०७९ फागुन १९ गते कच्चा दुध ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ तोकेको थियो । 

 टीएस बापत थप रकम निर्धारण गरेपनि २०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी प्रति लिटर ८ रुपैयाँ घटाएको उत्पादक संघको आरोप छ । 

उनीहरूले २०८० मंसिर १ गतेदेखि दुधको मूल्य घटाएको बताएका छन् । २०८० मंसिर ७ गते केन्द्रीय दुग्ध सहकारी संघ लिले २०८० कार्तिक २४ गते र डेरी उद्योग संघ नेपालले २०८० मंसिर ७ गते दुधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्राचार गरेपनि डेरी उद्योगले बेवास्ता गरेको अध्यक्ष सिटौलाको भनाई छ । 

डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दूध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याएको उनीहरुको भनाई छ । किसानहरुलाई हालसम्म ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भएको भन्दै त्यो पुर्ती गर्न उनीहरुले माग गरेका छन् ।

अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहे पनि कोशी प्रदेशमा भने त्यो निर्णय कार्यन्वयन नभएको  दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले बताए । 

पशुपालनमा उत्पादन खर्च बढिरहेको बताउंदै उनले कम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरु पलायन हुने अवस्थामा पुगेको उनको भनाई छ । 

किसान  र डेरी उद्योगीहरुबीच नङमासुको जस्तो सम्बन्ध हुनुपर्ने भए पनि त्यस्तो नरहेको उनीहरुको दुःखेसो छ । 

दुध उत्पादनमा  कमी आए पनि खपत भने बढेको उनीहरुको भनाई छ । तर उत्पादनमा कमी आए पनि डेरीहरुले पर्याप्त दुध बिक्रि गरिरहेको उनीहरुको भनाई छ । उनीहरुले  किसानले दुध नदिए पनि डेरीहरुले भारतीय पाउडर ल्याएर पोका दुध बनाउने गरेको दावी गरेका छन् ।

दुग्ध उत्पादक किसान बद्री निरौलाले मिल्ड होलिडे गर्नुभन्दा मुल्य घटाउनुपर्ने डेरी व्यवसायीको माग जायज नभएको बताउँछन् ।

 उनले दुध नपाएर डेरी उधोगहरुले पाउडर बेच्ने दावी गरेका छन् । किसान धमाधम पलायन भइरहेको बेला दुधको समर्थन मुल्य उपलब्ध गराएर संरक्षण गर्नुपर्ने धारणा राखे ।

किसानमाथि डेरी उधोगीहरुले राम्रो व्यवहार नगरेको पाथिभरा गाई फर्मका सञ्चालक सुदिप गौतमको गुनासो छ ।