काँकरभिट्ट । मेची उद्योग बाणिज्य संघको आयोजनामा यही माघ २१ गतेदेखि जारी व्यवसायीको नाप तौलको परीक्षण आजबाट समापन भएको छ ।
मेची उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा गत सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौल्ने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमतिपत्र वितरण र अनुगमन कार्य शुक्रबार समापन भएको हो ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले मेचीनगरका १०९ जना व्यवसायीले सदस्यता नविकरण गरेको जानकारी दिए ।
त्यस्तै १८९ जना व्यवसायीहरुले काँटा, ढक, लिटर, मिटर जाँच गरेर नवीकरण, नयाँ दर्ता र अनुमतिपत्र लिएको उनले बताए ।

_1736908732.jpg)
गतवर्ष भन्दा १७ प्रतिशत बढी व्यवसायीहरुले नाप तौलको परीक्षण र सदस्यता नवीकरण गरेको उनको भनाई छ ।
गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरबाट खटिएको डोर टोलीमा कार्यालयका सहायक निरीक्षक अमितकुमार कर्ण, सीमीद्वय विजयनन्द चौधरी र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे तथा संघका कार्यसमिति र कर्मचारीहरु डोर टोलीमा खटिएका थिए ।

यही माघ २१ गतेदेखि सञ्चालन भएको नाप तौलको परीक्षणको पहिलो दिन मेचीनगर–६, काँकरभिट्टा स्थित होटल दुवईल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।
दोस्रो दिन मेचीनगर–७, ईटाभट्टा स्थित उत्तम किराना पसल छेउमा, तेस्रो दिन संघको सचिवालय धुलाबारी, चौँथो दिन धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउ र पाँचौँ दिन आज चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स छेउमा व्यवसायीहरुको नाप तौलको परीक्षण गरिएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।