विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले महायज्ञ आयोजना गर्ने भएको छ ।

आगामी फागुन ४ गतेदेखि समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ हुने भएको हो ।

आज महायज्ञ आयोजनास्थलमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा महायज्ञ आयोजना गर्न लागिएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो ।

ढकाल बन्धुसहित अन्य धर्मानुरागीहरुले महायज्ञमा सहभागी भएर पूण्य आर्जन गर्न सकिने उहाँले बताउनुभयो । फागुन ४ गतेदेखि १५ गतेसम्म हुने ११ दिवसीय अनुष्ठानमा करिब चार लाख ५० हजार धर्मानुरागीको उपस्थिति हुने उहाँले बताउनुभयो ।

नेपालमा करिब सात -आठ लाख र विश्वभरि करिब २४_२५ लाख ढकाल बन्धुहरु छरिएर रहनुभएको समाजका उपाध्यक्ष एवम् वंशावली निर्माण समितिका संयोजक उमानाथ ढकालले बताउनुभयो । देशभर १७ वटा ढकाल बन्धुका संस्था दर्ता रहेको र हालसम्म ढकाल बन्धुहरुको २५ पुस्तासम्म रहेको विवरण संकलित भएको उहाँले बताउनुभयो ।

उपमन्यु ऋषिका सन्तानका रुपमा रहेका ढकाल बन्धुहरुलाई एकसुत्रमा बाँध्नका लागि समेत महायज्ञको आयोजना गर्न लागिएको उहाँ बताउनुहुन्छ ।

सरकारले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने लागेको र देशभरका ८२ वटा गन्तव्यमध्ये कोटिहोम पनि एउटा रहेकाले यहाँको धार्मिक पर्यटनलाई प्रबद्र्धनमा समेत महायज्ञले टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महायज्ञ सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महायज्ञबाट करिब ६० देखि ७० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । अनुष्ठानबाट बचत भएको रकमबाट ढकाल बन्धुको भवनको माथिल्लो तलामा धर्मशाला निर्माण गर्ने योजना आयोजकको छ ।

महायज्ञमा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया लगायत विश्वभर रहेका ढकाल बन्धुहरुको सहभागिता रहने अध्यक्ष ढकालले बताउनुभयो । फागुन ४ गते पूर्वाङ्ग कर्म, झाँकी एवम् बाजागाजासहित १० बजे कलश यात्राका साथ नगर परिक्रमा गर्ने र १ बजे महायज्ञ उद्घाटन गरिने आयोजकले जनाएको छ ।

भक्तजनको इच्छा अनुसार तुलादान, विवाह, धान्यन्वल, व्रतबन्ध, लक्ष्यवतीका प्रज्वलन, चौराशी पूजा, नौ ग्रहको पूजा, चिना हेर्ने, इच्छुक व्यक्तिले कर्ता बस्न सकिने, ढकाल बन्धुका एकमात्र कुलका धामी ढाक अक्षामका देवानन्द ढकाल र कुलका पुजारी चन्द्रकान्त ढकालद्वारा जोखाना हेर्ने, झारफुक गर्ने र कुलको विषयमा पूजापाठ सम्बन्धि ज्ञान उपलब्ध गराइनेछ भने महायज्ञमा श्रद्धापूर्वक सहयोग गर्ने दानविर दातालाई सम्मान गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष उमानाथ ढकाल, सदस्य टेकनाथ ढकाल, लोकनाथ ढकाल, लक्ष्मी ढकाल, कल्पना ढकाल, ओमप्रकाश ढकाल, तीर्थप्रसाद ढकाल, मन्दिरका पुजारी मित्रलाल न्यौपालेलगायतको उपस्थिति रहेको थियो ।