बिर्तामोड ।
झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा र कनकाई नगरपालिकाबिच हुने भएको छ ।

माघ २६ देखि शुरु भएको प्रतियोगिताको फाइनल भोली हुने भएको हो । डोमालाल राजवंशी रंगशालामा आज आयोजित पत्रकार भेटघाटमा दुबै टिमले उपाधि उचाल्ने दाबी गरे । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको बिजेताले तीन लाख र उप–विजेताले नगद एक लाख ५० हजार प्राप्त गर्नेछ ।
कनकाई नगरपालिकाका कोच सन्तोष रायमाझीले बिर्तामोड नगर खेलकुद विकास समितिले सवै भन्दा ठूलो पुरस्कार राशीको महिला फुटवल प्रतियोगिता गरेकोमा धन्यवाद दिए । उनले कनकाई र अर्जुनधाराका दुवै खेलाडी उत्कृष्ट रहेको बताउँदै जुन टिमले जिते पनि झापाकै जित हुने बताए ।

_1736908732.jpg)
यता अर्जुनधारा नगरका कोच पुष्प मादेनले आफ्नो टिम उत्कृष्ट रहेको तर, कनकाईको टिम पनि कमजोर नभएको बताए । उनले पनि जितहार जे भएपनि प्रतियोगिता हुनु नै ठूलो कुरा भएको बताए ।
