भद्रपुर, ५ फागुन । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
मेची रंगशाला परिसरमा आज पत्रकार सम्मेलनमा आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको उनले बताए ।
फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको दोस्रो संस्करणमा भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

_1736908732.jpg)
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुने उहाँले बताउनुभयो । स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको भने त्यस्तै, बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
गोल्डकपको विजेताले नगद रू १३ लाख र उपविजेताले नगद रू सात लाख प्राप्त गर्ने छन् भने गोल्डकप सम्पन्न गर्न रू एक करोड ७८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
_1739844454.jpeg)

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद रू एक लाख पाँच हजार पाउने छ भने उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही नगद रू २५ हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रू २१ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आफ्नो पितामाता लक्ष्मण तथा रामरेखा ढकालको स्मृतिमा संयुक्त रुपमा सौजन्य गर्नुभएको छ भने दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ ।
प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट उपलब्ध एक थान टिभिएस मोटरसाइकल तथा अर्का एक जना दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट प्राप्त एक थान सुनको सिक्री उपहार प्रदान गरिनेछ ।
प्रत्येक दिन टिकट काट्ने एक जना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट प्रत्येक दिन एक जना भाग्यशाली दर्शकलाई दुई जनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले चाँदीको सिक्काको व्यवस्था गरेको छ । फाइनलकै दिन पाँच जना दर्शकले एक÷एक वटा स्प्रे ट्यांकी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेको छ ।