बिर्तामोड,फागुन ५ । इस्ट होराइजन  र निदि  सेकेन्डरी स्कुल हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको  फाइनलमा प्रवेश गरेका छन् । 

शिक्षासेवी हरिकुमार प्रसाईंको संझनामा संचालन भइरहेको हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज भएका सेमिफाइनल खेलहरुमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई पराजित गरी इस्ट होराइजन र निदिले फाइनल भेट पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा निदिले आयोजक एभरेष्ट स्मार्टलाई २–० ले हराएको हो । सो खेलमा निदिका गौरव राजवंशी म्यान अफ द म्याच घोषित भए । त्यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा इस्ट होराइजनले बाल्मीकि प्रोभिडेन्सलाई १–० ले पराजित गरी उपाधिनजिक पुगेको हो ।

फाइनल खेल भोलि बिहान ११ बजेदेखि शुरु हुने आयोजक एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।