झापा :  नेपाल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक अभिशेक गहतराजले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च परोपकारी काममा लगाएका छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम सहयोग गरेका हुन् ।

२१ हजार रुपैयाँ कोष वृद्धिका लागि संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका उनले सबै व्यवसायीको हितका लागि गरिएको यो कार्य प्रशंसनीय रहेको भन्दै सुनचाँदी व्यवसायीले समेत त्यसको अनुसरण गरेको बताए । वीरता जेसीजका उपाध्यक्ष तथा गहतराज संजाल झापाका अध्यक्ष समेत रहेका उनले बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच रकम प्रदान गरेका थिए ।

सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले गहतराजलाई सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै कदर पत्रद्वारा सम्मान गरेको छ । संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने र त्यसको व्याजबाट व्यवसायीलाई समस्या पर्दा सहयोग गर्ने बताएका थिए ।

कोषमा यस अघि संघका सदस्य अनन्तलाल महत्तोले २५ हजार एक सय रुपैयाँ र सदस्य रमेश घिमिरेले समेत जन्मदिनको अवसर पारेर २१ हजार एक सय ११ रुपैयाँ रकम प्रदान गरेका थिए ।   संघले स्थापना गरेको कोषमा हालसम्म १० लाख रुपैयाँ बढी रकम संकलन भएको बताइएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलको समेत सहभागीता रहेको थियो भने संघका पदाधिकारी र बिर्तामोडका व्यवसायीको उपस्थिति रहेको थियो ।