झापा :  बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

आपत विपतमा परेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा खतिवडाले  नगद सहयोग गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा श्रीमती निरुजा दाहाल खतिवडा र छोरी महिमाका साथ आएका महासचिव खतिवडाले कोषको रकम वृद्धिका लागि आफूले पनि अन्य व्यवसायीले जस्तै रकम सहयोग गरेको बताए । उनले कोष वृद्धिमा सहयोग पु¥याउने अन्य व्यवसायी र सामाजिक व्यक्तिलाई समेत धन्यवाद दिए ।

संघले आगामी दुई वर्ष भित्र कोषमा एक करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको समेत उनले बताए । त्यसका लागि संघका अध्यक्ष न्यौपाने सहितको सिङ्गो कार्य समिति लागि परेको खतिवडाले बताए ।  

बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव खतिवडाको सु स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै कदर पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईले समेत संघले शुरु गरेको कार्यको उच्च प्रशंसा गर्दै आफ्नो जन्म दिन वाणिज्य संघमा मनाउने र केही रकम कोष वृद्धिका लागि सहयोग गर्ने  प्रतिवद्धता जनाए ।

संघका सचिव राजकुमार गुप्ताले संचालन गरेको कार्यक्रममा संघका विशिष्ठ सदस्य निर्मल भट्टराई, जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक राजेश पौडेल लगायतको आतिथ्यता रहेको थियो ।