झापा : मेचीनगर नगरपालिकाको प्रेस संयोजकमा पत्रकार अर्जुन कार्की नियुक्त भएका छन् ।नगरपालिकाको मंगलबार सम्पन्न कार्यपालिकाको बैठकले मेचीनगर अनलाइन डटकमका सम्पादक कार्कीलाई प्रेस संयोजकको जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले जानकारी दिए ।
यसअघि पत्रकार युवराज आचार्यले प्रेस संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए । आचार्यले कार्य व्यस्तताको कारण जनाउँदै राजीनामा दिएपछि उनको स्थानमा कार्कीलाई जिम्मेवारी तोक्ने निर्णय भएको प्रवक्ता बरालले बताए ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील कार्की मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी हुन् । उनले जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, लोकतन्त्र पोस्ट लगायतका सञ्चारमाध्यमहरुमा सम्पादकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् ।