झापा : भूतपूर्व सैनिकहरुको पुनर्वास भूमि बिर्तामोड– १० सैनिक बजारको पहिचानलाई उजागर गर्न  आजदेखि सैनिक महोत्सव शुरु भएको  ।  तेस्रो संस्करणको रुपमा सैनिक महोत्सवलाई निरन्तरता दिइएको हो ।

आजदेखि फागुन १८ गतेसम्म तेस्रो संस्करणको सैनिक महोत्सव आयोजना गरिएको हो । बिर्तामोड नगरपालिकाको १० नं वडा कार्यालयको सहयोगमा  वडा कार्यालयदेखि उत्तरपट्टि जातीय भेषभूषासहितको तेस्रो ऐतिहासिक सैनिक महोत्सव आयोजना गरिएको वडाध्यक्ष दुर्योधन गुरुङले बताए । 

यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्को वर्ष २०७६ मा दोस्रो सैनिक महोत्सव आयोजना गरिएको थियो । त्यसपछि कोरोना संक्रमणका कारण रोकिएको सैनिक महोत्सवलाई यस वर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । 

उनले भूतपूर्व सैनिकहरुको थलो ,बहुसंख्यक जातजातिको बसोबासस्थल , खेलाडीको उर्वरभूमि , महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर भएको ठाउँ सैनिक बजारको चिनारीलाई उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए । 

 सो महोत्सवलाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख  पवित्रा महतरा प्रसाईले उद्घाटन गरिन् ।  वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद  संग्रौला , राजवंशी समाज विकास समितिका रुपेश राजवंशी , शिक्षक सावित्री गुरुङलगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा  बिर्तामोड– ४ का वडाध्यक्ष राहुल शर्मा , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, मेला आयोजक समितिका संयोजक सन्तोष गुरुङ, महेन्द्रज्योति विद्यालयका प्रधानाध्यापक जयकुमार झा , विराट आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी दुलाललगायतको उपस्थिति रहेको थियो । महोत्सव उद्घाटनअघि  विभिन्न जातजातिको  झाँकीले सैनिकबजार परिक्रमा गरेको थियो । 

महोत्सवमा  कमल खत्री, प्रीती आले, मेलिना राई,राजनराज शिवाकोटी,रचना रिमाल,टीका प्रसाईं , राजेशपायल राईका साथमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने प्रचार प्रसार उपसमितिका संयोजक खड्गबहादुर गुरुङले जानकारी दिए । 

२०२० सालमा तत्कालीन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका २ सय परिवारलाई त्यहाँ पुनर्वास गराएका थिए । पूर्वराजाको निर्देशनपछि भूतपूर्व सैनिकका परिवारले १६ सय बिगाह वनक्षेत्र आवाद गरी बस्ती बसाले र सोही बेलादेखि त्यहाँको नाम सैनिक रहन गएको हो ।