भद्रपुर : आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल २–० को अग्रता बनायो  ।

भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे । दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।

भद्रपुरले खेलमा केही अवसरहरू गुमायो । खेलको ४० औँ मिनेटमा पेनाल्टी एरियाबाट मिलन राईले प्रहार गरेको बल फर्स्ट बारमा लागेर फर्कियो । खेलको ४५ औँ  पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलन राईको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर टमाटाले रोके । खेलको ५४ औँ मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर शेखले पञ्च गरे । कृष्ण गुरूङको क्रस पासमा पेनाल्टी एरियाबाट लिम्बूले हेड गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता मिलन राई भए । उनले नगद २१ हजार र ट्रफी पाए । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा रणनीति बनाएर पुलिसमाथि जित दर्ता गरेको बताए । घरेलु टिम र दर्शकका साथका कारण खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि डिफेन्समा चुक्दा हार बेहोर्नु परेको बताए । जित्ने योजनाका साथ मैदानमा उत्रिए पनि सानो गल्तीले चुकेको उनको भनाइ थियो ।

शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेडबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए । मछिन्द्रलाई हराउँदै झापा क्वार्टर फाइनलमा प्रवेश गरेका हो ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।