मेचीनगर, १५ फागुन । तत्कालिन ज्यामिरगढी गाविसको पुरानो भवनबाट कार्यसम्पादन गरिरहेको १५ नम्बर वडा कार्यालयले अब चाँडै काँचुली फेर्ने भएको छ ।
आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीेले तत्कालिन ज्यामिरगढी गाविसको पुरानो भवन परिसरमा वडा कार्यालयको नयाँ भवन बनाउन शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमाल लगायतको उपस्थिति रहेको थियो ।
वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई ९राजन०ले दुई तलाको सुविधा सम्पन्न नयाँ भवन बनाउन बिहीबार शिलान्यास गरिएको बताए ।

_1736908732.jpg)
गत माघ २९ गतेदेखि बनाउन सुरु गरिएको उक्त भवनको दुई तलामा ९ वटा कोठा रहने पूर्वाधार विकास शाखा प्रमुख रिमालले जानकारी दिए ।
आगामी २०८२ असार १० गते सम्पन्न हुने गरी मुल्य अभिवृद्वि करसहित ६१ लाख २९ हजार ४४५ रुपैयाँ ३९ पैसामा दुर्गामाता निर्माण सेवालाई ठेक्का दिइएको उनको भनाई छ ।

अव मेचीनगरको १५ वटा वडामध्ये २ वटा वडा कार्यालयको मात्र भवन बनाउन बाँकी रहेको छ ।
मेचीनगर–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११ र १४ नम्बर वडा कार्यालय आफ्नै भवनबाट कार्यसम्पादन गरिरहेका छन् । वडा नम्बर १२ र १३ अहिले पनि भाडामा कार्यालय सञ्चालनमा छन् ।
नगरप्रमुख बुढाथोकीले वडा नम्बर १२ र १३ लाई पनि भवन बनाउन यही चालु आर्थिक वर्षमा बजेट छुट्टिएको बताए । वडा नम्बर १३ को केहिदिनमा टुंगो लाग्छ भने १२ नम्बरको यही वर्षमा भवन बनाउने काम सुरु हुने उनले बताए ।