काठमाडौं । बुधबार शिवरात्रिका दिन पशुपतिका एक जोगीले सर्वसाधारणलाई कुटेका छन् । पशुपतिको पारीपट्टी १५ शिवालयको छेउमा गाँजा खाँदै धुनी तापेर बसेका उनले केही युवालाई लठ्ठीले चुटेका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडिओमा जोगीले बाटो हिँडिरहेका युवाहरुमाथि लौरोले हानेको देखिन्छ । उनको आक्रोशको कारण खुलेको छैन । रोक्न गएका अर्का युवामाथि पनि जोगी जाइलागेका छन् ।

अन्धाधुन्ध आक्रमण गर्न थालेपछि युवाहरुले पनि प्रतिकार गरेका थिए । एक युवकले छेउमा बलिरहेको अगुल्टो प्रहार गरे । तर, त्यो अगुल्टो जोगीले छले । अर्का युवकले जोगीको लौरो खोस्न जाँदा उनैलाई भकुरे । पछि अरु थप युवा आएर प्रत्याक्रमण गर्न थालेपछि जोगी त्यहाँबाट भागेका थिए ।
उनलाई युवाहरुले लखेटेर तल पुर्याए । छेउमा अरु जोगीहरुले पनि युवाहरुमाथि प्रहार गर्न खोजेका थिए । तर, सबै युवा एकजुट भएर प्रतिरोध गरेपछि जोगीहरु डराएर लाखापाखा भए ।

_1736908732.jpg)
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार यो घटना बुधबार रातिको हो । बाटोमा हिँडिरहेका युवकहरुमाथि ती जोगीले मुख छाडेपछि विवाद भएको उनले जानकारी दिए ।
उनले भने, ‘केही युवाहरु बाटोमा हिँडिरहँदा जोगीले मुख छोडेका रहेछन् । युवकहरुमाथि जथाभावि नबोल्न चेतावनी दिएपछि जोगी झन् उत्तेजित भएर अन्धाधुन्ध प्रहार गर्न थालेछन् । पछि दुबै पक्षबीच केहीबेर झडप भएको रहेछ ।’

जोगी गाँजाको नशामा भएकाले नै घटना भएको हुन सक्ने अधिकारीको अनुमान छ । युवकहरुले जोगीलाई लखेटेपछि माहोल सामान्य भएको उनले जानकारी दिए ।
हालसम्म जोगीविरुद्ध उजुरी गर्न कोही पनि कोषमा आएका छैनन् । जोगी पनि सम्पर्कमा छैनन् । उनको पहिचान पनि खुलेको छैन । ५ लाखभन्दा बढी दर्शनार्थी आएको बेला शिवरात्रिमा सानातिना घटना भएको अधिकारी बताउँछन् ।
nepalpress.com