बिर्तामोड ।

 झापाको बिर्तामोडमा श्री श्री ठाकुर अनुकूलचन्द्रको १३७ औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव हुने भएको छ । 

सत्संग नेपालको आयोजना तथा सत्संग मन्दिर बैशावाडी अर्जुनधारा–५ को संयोजनमा यहि फागुन १७ गते शनिवार बिर्तामोडमा जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव गर्न लागिएको आज बिहान आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

राष्ट्रिय उत्सवमा सहभागी हुने भक्तजनहरुको खाना र बस्नको प्रवन्ध मिलाइसकिएको सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलालले जानकारी दिए ।

उनले धार्मिक कार्यक्रमका माध्यमबाट सहिष्णुता भाइचारा, बन्धुत्व कायम राख्न राष्ट्रिय उत्सव सफल हुने विश्वास ब्यक्त गरे । २ बर्षअघि प्रथम राष्ट्रिय उत्सव बिरगञ्जमा भएको भन्दै दोस्रो राष्ट्रिय उत्सव झापामा भब्य रुपमा सम्पन्न हुने उनले दावी गरे । २०४२ सालमा बिराटनगर र झापाको बैशावाडीमा ठाकुर मन्दिर स्थापना भएको भन्दै उनले देशभर २० वटा केन्द्रहरु रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

सम्मेलन कार्यक्रमका संयोजक सुमन शर्मा जमरकट्टेलले भोलि शुक्रवार बेलुकी ४ बजे संगीतसभा र सामूहिक सन्ध्यााकालिन, बिन्ति प्राथनासहित बिभिन्न कार्यक्रम हुने बताए ।

उनका अनुसार शनिवार बिहान बेदमांगलिकी पाठ, उषाकिर्तन, सामुहिक प्रातकालीन बिन्ति प्राथना एवं गन्थ्रादि पाठ, शोभायात्रा, धर्मसभा, मातृ सम्मेलन, संगीतसभा, सामुहिक सन्ध्याकालिन, बिन्ति प्राथनालगायतका कार्यक्रमहरु तय गरिएको छ । शेभायात्रा शनिवार बिहान ९ बजेबाट शुरु हुने र सभामा सयौंको संख्यामा सहभागीता रहने कार्यक्रम संयोजक कट्टेलले बताएका छन् ।