झापा
झापाको बिर्तामोड नगरपालिका वडा न २ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलवार बिहान ५ः४५ बजे बिर्तामोड नगरपालिका वडा न २ स्थित भित्री सडकखण्डमा लालमाटी चोकबाट रामचोकतर्फ आउँदै गरेको म प्र ०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका ३ बस्ने १९ वर्षीय गोबिन्द राजवंशी घाइते भएका थिए ।

टाउको, अनुहार र खुट्टामा चोट लागेर बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो ३ः२५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ १८ वर्षीय अमित राजाको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।
उनको छातीमा चोट लागेको छ । मोटरसाइकललाई नियन्त्रणमा राखी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।