सन्तोष न्यौपाने÷झापा
दुर्घटना न्युनिकरण गर्न झापामा सडकमै चालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण गरिएको छ । सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा दुर्घटनासंगै ज्यान नै जाने गरिका घटना घट्न सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालकको लापसे परिक्षणसंगै आँखा तथा कान जाँच सडकमै गरेको हो ।

दुर्घटनासंगै लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरिएको झापा ट्राफिक प्रमुख गणेश पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आज अपरान्ह महेन्द्र राजमार्गको बिर्तामोड स्थित बसपार्क सडक खण्डमा गरिएको लापसे परिक्षणमा ७ जनामा पोजेटिभ देखिएको थियो ।

_1736908732.jpg)
ट्राफिक प्रहरी प्रमुख पौडेलले ३७ जना चालकको लापसे परिक्षण गर्दा भाडाको बसका चालक ३, सह चालक १, इभि माइक्रो चालक १ र मोटरसाइकल २ जना गरि कुल ७ जनाले लापसे सेवन गरेको पाइएको जानकारी दिए ।

चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।
चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेपछि लागूऔषध सेवनकर्ता चालकको चेकजाँच तथा आँखा कान परीक्षण सुरु गरिएको उनको भनाई छ ।
अभियानको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख एसपी मिलन केसीले “प्रहरी सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत यो कार्यक्रम गरिएको बताउंदै दुर्घटना रोक्ने दायित्व हामी सबैको भएको बताएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय कांकरभिट्टा र लायन्स क्लबको सहकार्यमा चालकहरूले लागूऔषध सेवन (लापसे) गरे नगरेको परीक्षण गरिएको हो ।
रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट)मार्फत चालकले लागूऔषध सेवन गरे नगरेको परीक्षण भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्यालय झापाले किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सीमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिएको बताइएको छ ।