बिर्तामोड

चन्द्रगढी भेट्रान एफसीमाथि फराकिलो जित निकाल्दै बिर्तामोडको पूर्वेली भेट्रान एफसी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा पूर्वेलीले ४–० को शानदार जित दर्ता गर्‍यो।

पूर्वेलीका लागि खेलको ३३ औँ र ६८ औँ मिनेटमा खेमराज पोखरेलले २ गोल गरे । त्यस्तै, खेलको १४ औँ मिनेटमा निर्मल तामाङ र खेलको ३४ औँ मिनेटमा सन्तोष राईले एकएक गोल गरे ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम पूर्वेलीका २ गोलकर्ता पोखरेल भए । उनले नगद एक हजार १०० र ट्रफी पाए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र आयोजक क्लबका अध्यक्ष माधव खरेलले पुरस्कार प्रदान गरे ।

फागुन २१ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।

त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने उपाध्यक्ष रमेश उप्रेतीले बताए ।