इलाम : इलामको रोंङ गांउपालिका ६ स्थित सलकपुरमा ‘अलैंचीको वर्तमान, अवस्था, अवसर र चुनौतीका बिषयमा सम्बन्धीत सरोकारवाला सहभागि गराई छलफल गरिएको छ ।
अलैंचीको गुणस्तर सुधार र बजारीकरण सम्बन्धि अन्तरक्रिया शनिबार सलकपुर ६ स्थित सामुदायिक सिकाई केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैंचीको गणस्तर वृद्धि, सुकाउने र भण्डारण गर्ने तरिका आन्तरिक तथा अन्तराष्ट्रिय बजारमा उपभोक्तामा खपत गराउने लगायतका विषयमा जानकारी गराएका थिए ।
नेपाल अलैंची व्यवसायी महासंघको आयोजना एंवम उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको प्राविधक सहयोगमा आयोजित कार्यक्रममा अलैंची उत्पादक किसान ,प्राविधिक र निर्यातकर्ता सहित स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

_1736908732.jpg)
रोङ गाँउपालिकाका अध्यक्ष सुवास तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघका अध्यक्ष भट्टराईले पछिल्ला वर्षहरुमा नेपाल अलैची ब्यवसायी महासंघ र नेपाल कृषि बजार विकास कार्यक्रमको सहकार्यमा प्रविधि विकास मार्फत गुणस्तर सुनिश्चितता एवं बजार प्रवद्र्धन मार्फत नेपालमा नै अलैंचीको खपत बढाउने उद्देश्यले विभिन्न नवीनतम कार्यहरु गरिदै आएको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले अलैंचीको स्वच्छता तथा गुणस्तर कायम गर्न अलैंची रोपणअघि माटो परिक्षण गर्नपर्ने, रोगमुक्त विरुवा मात्र रोपण गर्नुपर्ने, रासायनिक विषालीको प्रयोग नगर्ने, गर्नैपर्ने भएमा प्राविधिकको सल्लाह अनुसार न्यायोचित रुपमा गर्ने लगायतका सुझाव राखेका थिए ।

कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सल्लाहकार ओमकृष्ण बिमली, बरिष्ठ उपाध्यक्ष इन्दचन्द्र बिन्दल, महासचिव नारायणप्रसाद चिमरिया, कार्यकारी अधिकृत अनिल ढुङ्गाना लगायतले अलैंचीको उल्पादन, गुणस्तर सुधार र बजारीकरण सम्बन्धी वर्तमान परिस्थिति, चुनौती, अवसर विषयमा भनाई राखेका थिए ।
नेपालमा उत्पादित अलैंची भारतमा मात्र निर्यात भएकाले तेस्रो मुलकमा पनि निर्यात गर्ने वातावरण कायम गर्न , गुणस्तर अभिवृद्धि गर्र्न महासंघले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा सहज प्रोजेक्टका प्रमुख प्रतिक देवकोटा, उद्योग कृषि तथा सहकारीका मन्त्रालय कोशी प्रदेशका ल्याब प्राविधिक देवदास लगायतले किसानले राखेका जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रममा अलैंची व्यवसायका सल्लाहकार पदाधिकारी र सदस्यहरुसहित उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु, अलैंची व्यवसायी तथा आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।
नेपालले कूल उत्पादनको ९८ प्रतिशत निर्यात गर्छ भने २ प्रतिशत मात्रै आन्तरिक रुपमा खपत हुन्छ । नेपालमा अलैचीको अधिकांश उत्पादन पूर्वी क्षेत्रबाट हुने गर्दछ भने विस्तारै नेपालको पश्चिमी क्षेत्रतर्फ पनि यसको विस्तार हुँदै गएको छ । नेपालमा करिब ६७ हजार परिवारहरु अलैंची खेतीमा संलग्न छन् । वर्तमान समयमा अलैंची खेती ४२ भन्दा बढी जिल्लाहरुमा फैलिएको भएता पनि कूल राष्ट्रिय उत्पादनको लगभग ७८ प्रतिशत कोशी प्रदेशका चार जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम र संखुवासभाबाट हुने गरेको पाईन्छ ।