झापा : झापामा दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सुरुवात गरिएको छ ।  जिल्ला ट्राफिक कार्यालय झापाको अग्रसरतामा जिल्लाका स्थानीयतहको समन्वयमा अभियान सुरु गरिएको हो । 

आज आइतबार एक कार्यक्रमकाबिच झापाको कन्काई नगरको समन्वयमा नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयका शिक्षकलाई भेला गराएर ट्राफिक शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ ट्राफिक नियम, व्यवस्थापन, सवारी दुर्घटना न्युनीकरण  र सहज व्यवस्थापन सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक गणेश पौडेलले प्रशिक्षण प्रदान गरेका छन् । 

“जिल्लाभरिका पालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै छौं”, उनले भने, “झापाका १५ वटै पालिकामा प्रस्ताव पेश गरिएको छ ।” स्थानीय तहको आयोजना र जिल्ला ट्राफिक कार्यालय झापाको समन्वयमा कार्यक्रम गरिने उनको भनाई छ ।  तालिमपछि उनीहरुलाई ‘ट्राफिक शिक्षकका रुपमा छनोट गरिने उनले बताए । 

pic tra 2

कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सवारी दुर्घटना न्यूनीकरणमा यस्ता कार्यक्रमले सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

तालिमबाट सिकेको कुरालाई विद्यार्थीहरुलाई जानकारी गराउन उनले सहभागीलाई आग्रह गर्दै भने,  “हामीले आफूले जानेर मात्र हुँदैन सिकेको कुरालाई अरुसम्म पु¥याउन जरुरी हुन्छ ।”

ट्राफिक प्रमुख पौडेलका अनुसार ट्राफिक शिक्षकले विद्यालयमा गई ट्राफिक स्वयंसेवक उत्पादन गर्नेछन् । 

विद्यार्थी स्वयंसेवकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउँदा प्रभावकारी हुने भएकाले अभियान थालिएको उनको भनाई छ । 

विद्यालय, शिक्षक र विद्यार्थीबाट तत्काल घर अनि समाजलाई सकारात्मक प्रभाव पर्ने भएकाले समुदाय साझेदारी कार्यक्रम अन्तरर्गत यो अभियानको थालनी गरिएको ट्राफिक प्रमुखको भनाई छ । 

नगरका सामुदायिक तथा निजी विद्यालयका ४१ जना शिक्षक सहभागी कार्यक्रमको सहजीकरण नगरपालिकाकी योजना शाखा प्रमुख जमुना कटुवालले गरेकी थिइन ।