झापा  : होटल संघ पोखराले झापाको बिर्तामोडमा आज ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्दनको मुख्य उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजित कार्यक्रममा जानकारी दिइयो । 

पर्यटकीय सहर पोखरामा आन्तरिक पर्यटनलाई गतिशील बनाउने तथा पर्यटकलाई पोखरा आगमनमा प्रेरित गर्ने र पोखराबाट समेत पर्यटकलाई अन्यत्र घुम्ने बानीको विकास गर्ने उद्देश्यका साथ ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्दन कार्यक्रम गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । 

झापाका होटल व्यवसायी, ट्राभल्स व्यवसायी र सञ्चारकर्मीहरुसँग अध्यक्ष सुवेदीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिने कार्यक्रम तय गरिएको बताए । 

अध्यक्ष सुवेदीले आफूूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको जानकारी गराएका थिए ।

आन्तरिक पर्यटन प्रवर्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव गर्दै आएको र खेलकुद कार्यक्रम गर्दै आएको जानकारीसमेत गराइएको छ ।

गण्डकी प्रदेश पर्यटन बोर्डको मुख्य सहकार्यमा जाउँ है पोखरा अभियान सञ्चालन गरिएको हो । साथै, बाह्य पर्यटन प्रवर्दनका लागि भारतीय सहरहरुमा चलिए पोखरा अभियान सञ्चालन गर्ने गरिएको छ । यसैबीच, २०८० चैत ४ गते पोखरा औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा भएको थियो ।

पोखरामा बन्जी जम्पिङ, जिप लाइनिङ, विभिन्न मठमन्दिरहरुमा सन्ध्याकालीन आरती, केवलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ लगायत दर्जनौँ पर्यटकीय सेवा उपलब्ध रहेका छन् ।

नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत ३० देखि बैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २० औँ फेवा नव वर्ष महोत्सव २०८२ समेत आयोजना गर्दैछ ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बिर्तामोडका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कोशी भ्रमण वर्ष २०८२ का सहसंयोजक भवेश श्रेष्ठ, होटल व्यवसायी संघ कोशी प्रदेशका कोषाध्यक्ष तथा झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, व्यवसायी भीष्मराज खरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले सुझाव राखेका थिए ।

कार्यक्रममा बन्दीपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, होटल संघ पोखराका उपाध्यक्ष गणेशराज पहारी, अध्यक्ष सुवदीलगायतले जाउँ है पोखराबारे प्रस्ट पारेका थिए ।