काठमाण्डौं : नेपाल अलैँची व्यवसायी महासंघले अलैंचीको बजारीकरण र प्रबद्धनमा सरकारको ध्यानकषर्ण गराएको छ ।  महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई भेटेर  

अलैँची उत्पादनदेखि बजारीकरणमा रहैंदै आएका समस्या समाधानका लागि आग्रह गरेको हो । महासंघले व्यवसायमा रहंदै आएका विभिन्न नीतिगत र व्यावहारिक समस्याबारे जानकारी गराउँदै सरकारको सक्रिय पहल आवश्यक रहेको बताएको हो । 

भेटमा उद्योगमन्त्री भण्डारीले स्वदेशमा अलैँचीको खपत बढाउने नीति ल्याउन र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न सरकारको तर्फबाट प्रतिबद्धता ब्यक्त गरेको  महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए ।  

मन्त्री भण्डारीले विशेष रूपमा ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसायमैत्री नीति अवलम्बन गर्ने तथा अलैँची बिक्रीका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउने विषयमा पहल गर्ने आश्वासन दिएको अध्यक्ष भट्टराईको भनाई छ  ।

त्यस्तै अलैँची उत्पादन पछिल्ला वर्षहरूमा घट्दै गएको भन्दै महासंघले कृषिमन्त्री अधिकारीसँग विशेष चासो व्यक्त गरेको थियो । 

सरकारका दुई मन्त्रीसँग भएको छलफल सकारात्मक रहेको महासंघले जनाएको छ ।   महासंघले अघि सारेका मागहरू पूरा हुने अपेक्षा गर्दै आगामी दिनमा ठोस कार्यान्वयनका लागि निरन्तर दबाब दिने जनाएको छ । 

पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको तथ्यांक प्रस्तुत गर्दै महासंघले उत्पादन वृद्धिका लागि प्रभावकारी रणनीति आवश्यक रहेको औंल्याएको महासंघका महासचिव नारायणप्रसाद चिमरियाले बताए ।  

मन्त्री अधिकारीले उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण, किसानलाई आवश्यक सहयोग, टिस्यु कल्चर प्रविधिको प्रवद्र्धन र सिँचाइ सुविधाको लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ  ।

WhatsApp Image 2025-03-04 at 05.40.46

अलैँची व्यवसायीहरूले बीमा सहज नहुँदा थप समस्या भोग्नुपरेको भन्दै महासंघले बीमा प्रक्रिया सरल बनाउन माग गरेको थियो । 

हाल केही बीमा कम्पनीहरू अलैँची खेतीको बीमा गर्न अनिच्छुक रहेको उल्लेख गर्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो । मन्त्री अधिकारीले आगामी बजेट निर्माणमा यस विषयलाई समेट्ने प्रतिबद्धता जनाए । साथै, महासंघले अलैँचीका सराबाट सामग्री निर्माणसम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग पनि राखेको थियो ।

अलैँची व्यवसायी महासंघले अलैँची व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ । महासंघले २०६४ सालमा स्थापना भई हालसम्म १५ जिल्लामा संगठन विस्तार गरिसकेको छ । 

देशभर ४३ जिल्लामा व्यावसायिक अलैँची खेती भइरहेको र ५३ जिल्लामा यसको सम्भावना रहेको महासंघको तथ्यांक छ । महासंघका अनुसार देशभर करिब १ लाख २५ हजार किसान अलैँची खेतीमा आबद्ध छन्, जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक मुद्रा आर्जन भइरहेको छ ।

उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्की, महासचिव नारायण चिमरिया, केन्द्रीय सदस्यहरू कुशुम दाहाल र इन्द्र तामाङ, निर्यातकर्ता एंव सल्लाहकार बसन्त बशल लगायत सहभागि थिए ।