झापा : झापा जिल्लाको कचनकवल गाउँपालिकाका युवा अभिनास मोहलीले आफ्नो जन्मदिनलाई समाजोपयोगी बनाउँदै उदाहरणीय कार्य गरेका छन् । मोहली र लजु लिम्बूको सक्रिय पहलमा कचनकवल गाउँपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत पर्ने क्षेत्रहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न गरिएको छ।
बिहीबार बिहानैदेखि पुरानो बजारदेखि विद्यापाणी माविसम्मका तीन विद्यालय—पथरिया मावि, ब्लुबेल्स, र विद्यापाणी मावि—अगाडि जेब्रा क्रसिङ निर्माण गरिएको छ। साथै, विभिन्न स्थानहरूमा ट्राफिक संकेत चिन्ह तथा होर्डिङ बोर्डहरू जडान गरिएको छ, जसले चालकहरूलाई गति सीमा, संकेत चिन्ह तथा ट्राफिक नियमहरूको पालना गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
विद्यालय अगाडि जेब्रा क्रसिङ निर्माण गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नु हो। दिनहुँजसो विद्यार्थीहरूले असुरक्षित रूपमा सडक पार गर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यो कार्य गरिएको सहयोगी लजु लिम्बूले उल्लेख गरे।
मोहली पेशाले शिक्षक हुन्। उनले आफ्नै घरमा पाठशाला स्थापना गरी करिब ३०० विद्यार्थीलाई विभिन्न विषय तथा भाषाका कक्षा प्रदान गरिरहेका छन्। सामाजिक गतिविधिमा पनि उनको सक्रियता उल्लेखनीय छ। उनका नेतृत्वमा यसअघि सरसफाइ अभियान, शैक्षिक सामग्री वितरण तथा विपन्न वर्गका बालबालिकालाई निःशुल्क कक्षा सञ्चालन जस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न भएका थिए।
उनको यस अभियानले स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, अभिभावक तथा यातायात व्यवसायीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ। यसले सडक सुरक्षाका उपायहरूबारे जनचेतना फैलाउनुका साथै विद्यालय क्षेत्रलाई थप सुरक्षित बनाउन योगदान पु¥याएको स्थानीयहरूले बताएका छन्।
सामान्यतया जन्मदिनमा भोज, आतिशबाजी वा व्यक्तिगत उत्सवहरूमा खर्च गर्ने चलन रहँदै आएको छ, तर मोहलीले समाजसेवाका लागि रकम खर्च गर्ने निर्णय गरी उदाहरणीय पहल गरेका छन्। यो कार्य अन्य युवाहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ।









































