बिर्तामोड :  फुटबल खेलाडीको जीवन कथामा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण पक्ष यतिबेला पूर्वी नेपालमा चलचित्रको प्रमोशनमा छ ।

झापाको बिर्तामोडमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निर्माण पक्षले चलचित्रबारे जानकारी दिएको छ । मान्छे मरेपछि विभिन्न उपमा दिएर चर्चा परिचर्चा गर्नुभन्दा उसको सफलताको चरणमा रहेकै बेला संघर्ष गाथालाई आमनागरिकमा पुर्याउने सोचले चलचित्र निर्माण गरिएको चलचित्रका निर्देशक मिलन चाम्सले बताउनुभयो ।

“मान्छे मरेपछि होइन, जिउँदे हुँदै उसको संघर्ष र सफलतालाई सबैले थाहा पाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसले सम्बन्धित मान्छेलाई प्रोत्साहन हुन्छ, समाजले उसको योगदानलाई चिन्ने अवसर पाउँछ ।”

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीलाई प्रोत्साहन गर्नका लागि चलचित्र निर्माण गरिएको बताउनुहुन्छ । “मलाई बनावटी भन्दा पनि जीवन–भोगाइको यथार्थ चलचित्र मन पर्छ”, उहाँले भन्नुभयो, “मैले अञ्जिलाको संघर्षलाई नजिकबाट नियालेको छु ।” राज्यले खेलाडीको पक्षमा सोच्नु पर्छ भन्ने दबाब दिन चलचित्रले सहयोग मिल्ने उहाँको भनाइ छ ।

“योग्यता र क्षमता भएका खेलाडी खाडी मुलुकमा गएर श्रम गर्न बाध्य छन्”, उहाँले भन्नुभयो, “जसले देशलाई विश्वमा चिनाए, उनीहरुको पक्षमा राज्यले ध्यान दिनुपर्छ ।” फुटबलर अञ्जिलाको घर निर्माण समेत गर्ने उहाँले बताउनुभयो । अञ्जिलाले घर बनेपछि उक्त घरलाई फुटबल एकाडेमीको रुपमा विकास गरेर क्षमता भएर पनि खेल्न नसकेका महिला खेलाडीलाई योग्य र दक्ष बनाउने सोच सुनाएकाले त्यसतर्फ पनि आफूहरु लागिपर्ने उहाँको भनाइ छ ।

सहनिर्माता विनोद अग्रवालले चलचित्र अत्यन्तै राम्रो भएकाले दर्शकको माया पाउने बताउनुभयो । विश्वका विभिन्न मुलुकका चलचित्रको टे«लरले चर्चा पाएको बताउनुहुँदै उहाँले चलचित्र सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्रबाट आर्जन गर्ने भन्दा पनि खेलाडी र खेल क्षेत्रको प्रबद्र्धनमा विशेष जोड रहेको अग्रवाल बताउनुहुन्छ ।

नेपाली महिला फुटबल टीमकी कप्तान अञ्जिला तुम्बापो सुब्बको जीवनीमा आधारित चलचित्र यही फागुन २९ गतेदेखि प्रदर्शन आउँदैछ । चलचित्र इलाम, काठमाडौंमा छायाँकन गरिएको छ । सवा दुई घण्टाको चलचित्रमा अञ्जिलाको संघर्षलाई उतार्ने प्रयास गरिएको छ ।

चलचित्रमा कलाकार दयाह्याङ राई, सुनिल थापा, मावत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा लगायतले अभिनय रहेको ‘अञ्जिला’मा फुटबलरका रूपमा अञ्जिलाले पाएको दुःख र गरेको प्रगतिमा चलचित्र केन्द्रित छ । अञ्जिला हाल ग्रिसको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिगमा खेलिरहेकी छन् ।

चलचित्रका क्यामेरा पर्सन विवेक बस्याल, मिडिया एड्भाइजर सुरक्षा भट्टराई लगायतको आतिथ्य रहेको पत्रकार भेटघाटको सहजीकरण सञ्चारकर्मी सुनिता तामाङले गर्नुभएको थियो ।