बिर्तामोड : विराटनगर सिटी एफसीलाई सडनडेथमा हराउँदै इलामको रेड हर्स एफसी झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा विराटनगरलाई सडनडेथमा ४–३ गोल अन्तरले हराउँदै रेड हर्स अन्तिम चारमा पुगेको हो ।

यसअघि निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको सुरुवातमा रेड हर्सले अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा मिङमा गुरुङले गोल गरे ।
तर, खेलको ४० औँ मिनेटमा गोल गर्दै विराटनगरका निवास फुयालले खेल बराबरीमा ल्बयाए । उनैले ६० औँ मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए । खेलको ७५ औँ मिनेटमा हरि खवासले गोल थप्दै खेल ३–१ उल्ट्याए ।

_1736908732.jpg)
तर, खेलको अन्त्यमा रेड हर्सका सङगे शेर्पा र विवेक सुनवारले गोल फर्काउँदै खेल ३–३ गोलको बराबरीमा पुर्याए । शेर्पाले ७७ औँ र सुनवारले ७८ औँ मिनेटमा गोल गरे ।
खेलको प्लेयर अफ द म्याच रेड हर्सका गोलकिपर निशान दनुवार भए । उनले नगद ३ हजार र ट्रफी पाए । उनलाई प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार प्रदान गरे ।

भोलिको अन्तिम क्वार्टर फाइनल न्यु स्टार एफसी सुनसरी र बगान युथ क्लब कचनकवलबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका सचिव रविन राईले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।