बिर्तामोड: इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टिम झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३–० गोल अन्तरले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो ।

आयोजक टिमले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल खेलको अन्त्यतिर थपेको हो ।
खेलमा एकतर्फी दबाब दिएको बुट्टाबारीका लागि खेलको तेस्रो मिनेटमा विजय राईले गोल गरे ।

_1736908732.jpg)
त्यस्तै, खेलको छैटौँ मिनेटमा रोशन धिमालले एक गोल गर्दै खेल २–० को स्थितिमा पुर्याएका थिए । खेलको ७६ औँ मिनेटमा किरण गुरुङको थप एक गोलमा आयोजकले ३–० को जित निकालेको हो ।
खेलको प्लेयर अफ द म्याच बुट्टाबारीका अभिषेक चौधरी भए । उनले नगद ३ हजार र ट्रफी पाए । उनलाई आजको खेलकी अध्यक्ष तथा क्लबकी सहसचिव एलिजा पोखरेल लगायतले गरे ।

भोलिको अन्तिम सेमिफाइनल खेल शनिश्चरे फुटबल क्लब अर्जुनधारा र बगान युथ क्लब कचनकवलबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।