बिर्तामोड :
झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा फागुन २१ गते सम्पन्न प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।

आयोजक चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लबले आज खेलमैदानमा प्रतियोगिताको सम्पूर्ण खर्च र आम्दानी सार्वजनिक गरेको हो ।
क्लबका अध्यक्ष माधव खरेलका अनुसार प्रतियोगिताका लागि आठ लाख २३ हजार १७६ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, छ लाख ४७ हजार ६ रुपैयाँ खर्च भएको छ ।

_1736908732.jpg)
प्रतियोगितामार्फत क्लबलाई एक लाख ७६ हजार १७० रुपैयाँ बचत भएको छ । त्यसमध्ये ८९ हजार रुपैयाँ प्राप्त भइनसकेको क्लबका कोषाध्यक्ष रामकृष्ण दाहालले जानकारी दिए ।
खर्चअन्तर्गत पुरस्कार, ट्रफी तथा मेडलतर्फ एक लाख २५ हजार ४२२, टिम खर्च तथा रेफ्री खर्च ९१ हजार ५००, साउन्ड सिस्टम, प्रत्यक्ष प्रशारण, स्टेज, सञ्चार, प्रचारप्रसारतर्फ एक लाख १२ हजार रुपैयाँ खर्च भएको अध्यक्ष खरेलले बताए ।

त्यस्तै, मायाको चिनो, फोटोकपी, फ्लेक्स, अतिथि ब्याचतर्फ ८१ हजार ४७५, खेलकुद सामग्री, आयोजक खेलाडी तयारी खर्च र मैदान मर्मततर्फ ७७ हजार ३६१ रुपैयाँ खर्च भएको छ ।
आयोजक, खेलाडी तथा अफिसियल खाजा र मेडिकलतर्फ ६२ हजार ५५० तथा विविध खर्च ९६ हजार ६९८ रुपैयाँ खर्च भएको छ ।
प्रतियोगितामा नेपाल र भारतका १३ वटा टिमको सहभागिता रहेको थियो । खेलको विजेताले नगद ५१ हजार १५१ र उपविजेताले नगद ३१ हजार १३१ रुपैयाँ पाएको थियो ।