झापा
नेपालकै नमुनाको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले ३० औं स्थापना दिवस मनाएको छ ।
२०५२ साल चैत २१ गते ३३ जना शेयर सदस्यको ३४ हजार रुपैयाँ शेयर पुँजीबाट स्थापना भएको साकोसको हाल एक लाख ९० हजार शेयर सदस्य र एक अर्व ७० करोड ११ लाख रुपैयाँ शेयर पुँजी पुगेको छ ।
बाह्य ऋण शून्य, ऋण लगानी ११ अर्ब ५० करोड, वासलात १७ अर्ब ७५ करोड, बचत १३ अर्ब ७५ करोड र संस्थागत पूँजी एक अर्ब ३० करोड रहेको संस्थाले जनाएको छ ।
कोशी प्रदेशका छ वटा जिल्लामा सेवा दिँदै आएको संस्थाको सेवा प्रदेशका १४ वटै जिल्लामा विस्तार गरी ५ लाख सदस्य बनाउने र एक खर्बको वासलात बनाउने लक्ष्य रहेको कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए ।
संस्थाको मूल कार्यालयसहित ८० वटै सेवा केन्द्रमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । मूल कार्यालयमा बिहिबार आयोजित बढ्दो रगतको अभावलाई टार्न आयोजित रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रमका बीच रामप्रसाद सिटौलाले छोरीको नाममा स्थापना गरेको लीलादेवी सिटौला सिर्जनशील नागरिक अक्षयकोष मार्फत पाँच वटा सामाजिक संस्थालाई सहयोग गरिएको छ ।
उक्त अक्षयकोष मार्फत तारा नमस्ते बालग्राम बिर्तामोड, परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोड, नेत्रहीन संघ बिर्तामोड, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा र सुस्तमनस्थिति सरोकार समाज नेपाल कनकाईलाई जनही १०÷१० हजार रुपैयाँ सहयोग गरिएको थियो ।
कार्यक्रमममा संस्थाकी सल्लाहकार एवम् कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी , संस्थाका सल्लाहकार केशवप्रसाद ओझा लगायतले मनतब्य राखेका थिए ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रथम उपाध्यक्ष छविलाल खतिवडाले स्वागत गरेका थिए भने सञ्चालन कोषाध्यक्ष डम्बर देउजाले गर्नुभएको थियो । कार्यक्रममा सहारा शिक्षा सदका विद्यार्थीले नृत्य र गीत प्रस्तुत गरेका थिए ।









































