विर्तामोड । प्रतिगमन र षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ।

आज झापाको विर्तामोडमा नेकपाका नेताकार्यकर्ताले राजतन्त्रको विरोधमा विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट नाराबाजी सहित शुरु भएको र्‍याली मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे । 

र्‍यालीमा प्रतिगमन मुर्दावाद, समाजवादी व्यवस्था जिन्दावाद, प्रतिगमन मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका झापा इन्चार्ज सुमनसिंह सी ले देशलाई पछाडि धकेल्न खोज्ने अराजक तत्वहरुलाई जनताले कारबाही गर्ने समय आएकाले धेरै नसलबलाउन चेतावनी दिएका छन्।

उनले पछिल्लो समय दुर्गा प्रसाईं जस्तो अराजक व्यक्तिहरु राजतन्त्रको वकालत गर्दै आन्दोलन गर्न थालेको र त्यसको कुनै औचित्य नरहेको उल्लेख गरे।

उनले गणतन्त्रको भत्ता खाएर गणतन्त्रको विरोध गर्नेहरु दलाल र रैती भएको बताउँदै यिनिहरुलाई कारबाही गर्नुपर्ने उल्लेख गरे। राजतन्त्रवादिहरु बेलैमा सचेत भएनन् र धेरै चलखेल गरे उनिहरुको दुखद अन्त्य हुने समेत उनले चेतावनी दिएका छन्।

गणतन्त्रको विकल्प जनताले मिल्काइसकेको राजतन्त्र नहुने स्पस्ट पार्दै उनले अबको विकल्प नेपाली विशेषताको समाजवाद रहेको र सबै समस्याको निकास समाजवादी व्यवस्था रहेको बताए ।