बिर्तामोड  : यातायात व्यवस्था कार्यालय झापामा रहेर लेखापढी गरिरहेका व्यवसायीहरुले आज पनि काम गरेनन ।  कार्यालय परिसरमा रहेका मेची लेखापढी व्यवसायीसंघमा आबद्ध व्यवसायीले प्रशासनबाट त्रासको वातावरण सृजना भएको भन्दै आज मङ्लबार पनि काम नगरेका हुन् । 

उनीहरुले त्रासको वातावरण रहेसम्म काम नगर्ने बताएका छन् ।  आज पत्रकार सम्मेलन गर्दै उनीहरुले व्यवसायीमाथि प्रहरी प्रशासनले त्रासको वातावरण सृजना गरेको र सो नहटेसम्म काम नगर्ने जनाएका हुन् ।

सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेर लेखापढी  काम गरिरहेको अवस्थामा प्रहरी प्रशासनले व्यवसायीमाथि धरपकड गरेको भन्दै उनीहरुले हिजोदेखि सेवा सञ्चालन बन्द गरिएको जनाएका हुन् ।  

लेखापढी व्यवसायीले सटर बन्द गरेर आन्दोलनमा उत्रिएसंगै यातायात कार्यालयमा काम काजले आइपुगेका  सेवाग्राही अन्योलमा त परेका छन् नै अनावश्यक हैरानी व्यहोर्न समेत बाध्य छन् । 

सवारी साधन सम्बन्धी कामले कार्यालय आएका सेवाग्राही आफैले काम कसरी गर्ने भन्ने जानकारी नपाउंदा समस्यामा परेका छन् । 

प्रहरीले यातायात व्यवस्था कार्यालयबाट ९ जना लेखापढी सहितकालाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्यादथप गरी अनुसन्धान अगाडी बढाएसंगै व्यवसायीहरुमा त्रास उत्पन्न भएको उनीहरुको भनाई छ ।

चैत्र २२ गते जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरीको टोलीले ९ जनालाई पक्राउ गरेको थियो । 

 प्रहरीले यातायातमा बिचौलियाका कारण सेवाग्राहीले हैरानी व्यहोर्नु परेको, अनाधिकृत व्यक्तिले कर तिरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने तर कर दाखिला नगर्ने गरेको , कार्यालयको छाप र अधिकृत हस्ताक्षर कृते गरी ठगि गरेको  गुनासोसंगै बिभिन्न सञ्चार माध्यमबाट समाचार प्रसारण प्रकाशन भए पश्चात ९ जनालाई प्रक्राउ गरेको थियो । 

अनाधिकृत व्यक्तिले गरेको दोषीको भागिदार आफुहरुलाई नबनाउन संघका सचिव इश्वर सुवेदीले पत्रकार सम्मेलन मा बताए । 

 अनाधिकृत व्यक्तिले गरेको अपराधलाई  संस्था तथा सदस्यहरुसँग जोडी अनावश्यक दोषारोपण हुंदा त्यसको असर व्यवसाय गर्दै आएका व्यवसायीमाथि देखिएको संघका सचिव सुवेदीको भनाई छ ।  

उनले ‘दोषी नछुटोस, निर्दोष नफसोस्’ भन्ने मान्यतालाई समेत ध्यानमा राखि निर्दोष लेखापढी व्यवसायी, सरकारी राजश्व दाखिलाका लागि लाइनमा बसेका सहयोगी लगायतलाई रिहा गरि यस किसिमको धरपकडका श्रृङ्खला बन्द गर्न प्रशासनसंग माग गरेका छन । 

अदालतबाट इजाजत प्राप्त गरेका लेखापढी व्यवसायीलाई बिचौलिया, दलाल जस्ता उपमा दिनु निन्दनीय र अपमानजनक भएको भन्दै त्यस्ता शब्दावली प्रयोग नगरिदिन सबै समक्ष संघका अध्यक्ष युवराज निरौला (कमल)ले आग्रह गरे । 

व्यवसायीहरुलाई ठगी गरी लाखौं रकम खाएर फरार रहेका कन्काईका  विशाल भण्डारी लेखापढी व्यवसायी नभएको उनीहरुको भनाई छ । 

प्रहरीले पक्राउ गरी भण्डारीलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका छन् ।  भण्डारीले सेवाग्राहीबाट रकम असुलेर कर नतिरिदिएको, फर्जी बिल भपाई दिएको, सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै सेवाग्राहीले उजुरी गरेपछि प्रशासनले व्यवसायीलाई पक्राउ गरेको थियो ।

यातायात व्यवस्था कार्यालय परिसरमा संघमा आबद्ध ७६ जना लेखापढी व्यवसायीले काम गर्दै आएका छन् ।