झापा। 

झापाको हल्दिबारी गाउंपालिकामा बैदेशिक रोजगार बोर्ड मार्फत गरिने आर्थिक सहायता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । 

हल्दिबारी ४ नम्बर वडामा भएको कार्यक्रममा श्रमस्वीकृति गरेर गएका नागरिकले विदेशमा बिरामी हुँदा आफूले र आफ्ना परिवारका सदस्यले पाउने उपचार सुविधा  रोजगारीका क्रममा मृत्यु भएमा परिवारले पाउने राहत आदिको बारेमा सहभागिलाई जानकारी गराइएको थियो । वैदेशिक रोजगारीमा जानेलाई श्रमस्वीकृति पालिकामा रहेको रोजगार शाखा मार्फत दिइने गरिएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिकाका अध्यक्ष रविन्द्र लिङदेनले पछिल्लो समय रोजगारको अभावमा प्रत्येक घर घरबाट  विदेश गएर श्रम गर्नुपर्ने बाध्यता रहेको र विदेशमा पनि ठगिने,दुख पाउने लगायतका समस्या देखिएको बताए । उनले सकभर स्वदेशमै केहि उद्धम गर्न र जानै पर्ने अवस्था भए  सबै कुरा बुझेर मात्रै विदेश जान अनुरोध गरे । 

आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्ने तथा वैदेशिक रोजगारीमा गएर फर्किएर आएका नागरिकलाई स्वदेशमै बस्ने वातावरण बनाउन अत्यावश्यक रहेको धारणा राखेका थिए।

हल्दिबारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाको उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान व बन महेन्द्र, योजना शाखा प्रमुख राजन न्यौपाने ,कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, शान्ता शिवाकोटी, आयुषा मेचेलगायत वैदेशिक रोजगारमा गएका घरका परिवारहरूको  उपस्थिति रहेको थियो। 

रोजगार शाखा प्रमुख सपना न्यौपानेले औचित्य माथि प्रकाश पारेकी कार्यक्रमको संचालन रोजगार सहायक मिलन बिश्वकर्माले  गरेका थिए।