कनकाई

झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ । वडाका कृषकलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आज वडाले यहाँका २३ जना कृषकलाई मोटर वितरण गरेको हो । वडा अध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताएका थिए । 

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै कृषिको माध्यमबाट आत्मनिर्भर र दिगोपना हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषकलाई आग्रह गरे । 

वडाध्यक्ष पोखरेलले यस पटक मागको करिब ४० प्रतिशत अर्थात वडाका २३ परिवारलाई मात्रै आवश्यकताका अनुसार उपलब्ध गराएको बताए ।  अझै पनि ९० जनाभन्दा धेरैको माग रहेको भन्दै अबको चरणमा सबैलाई पुर्याउन प्रयास गर्ने प्रतिबद्धता उनले जनाए । कृषिका लागि मल, बिउसँगै सिँचाइको समेत उत्तिकै भूमिका हुने भएकाले सिँचाइ मोटर वितरण गरिएको उनले बताए । 

बालबालिकालाई खेलकुदका सामग्री

यता, वडाले आजै बालबालिकाको माग अनुसारको वडाको दिव्यज्योति बाल समूहलाई खेलकुद सामग्री समेत वितरण गरेको छ।

आठ वर्षदेखि माथिका ६० जना बढी बालबालिका रहेको दिव्यज्योती बाल समुहमा आबद्ध बालबालिकालाई खेलकुदका सामग्री फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट लगायतका खेल सामग्री वितरण गरिएको वडा सदस्य हरिकुमार राईले बताए । 

सिँचाइ मोटर तथा खेल सामाग्री वितरण कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गरेकी थिइन ।