झापाको बिर्तामोडमा संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिइएको छ ।  विभिन्न क्षेत्रमा आबद्ध १ सय १४ जनाको न्युनतम एक लाखदेखि १० लाख रुपैयाँसम्म संयुक्त लगानीमा कम्पनी बिर्तामोड ४ मा स्थापना गरिएको बिहिबार आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

कम्पनीका अध्यक्ष याम कुमार चुडालका अनुसार कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा गत २०८१ असोज २२ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । 

कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको बताइएको छ । 

कम्पनीले बैंक तथा वित्तिय संस्थाको  साथै, विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य मुनाफामूलक क्षेत्र, जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरु, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना सहितका  विकासका परियोजनाहरुमा लगानी गर्ने जनाएको छ । 

कम्पनीको उद्घाटन भोली शनिवार कोशी प्रदेश सरकारका खानेपानी तथा सिंचाई मन्त्री एकराज कार्कीले गर्ने कार्यक्रम तय भएको बताइएको छ । 

पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक कृष्णप्रसाद खरेल, शिवबहादुर दाहाल, मिलन कोइराला, कोपिला बजगाँई, तारा बस्नेतलगायत सदस्यहरुको उपस्तिति रहेको थियो ।