झापा

लागूऔषधसहित झापाको बिर्तामोडबाट दुईजना पक्राउ परेका छन् । शुक्रबार  दिउँसो बिर्तामोडको सिटीसेन्टरस्थित पूर्वपश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जना भारतीयलाई पक्राउ गरेको हो । 

काठमाडौबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र ३–००१ ख २८२५ नम्बरको न्यू सृष्टी गोल्ड रात्रीकालीन बसमा सवार भारत बेङ्लोर कनाटाकास ईजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय ईबराहिम केथाड्थलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनीहरुको २ वटा सुटकेशभित्र खानेकुरा चिप्सको ३६ थान प्याकेटभित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा ५ के जी ५३४ ग्राम र २ वटा डब्बाभित्र रहेको लिसाईलो पदार्थ जस्तो देखिने जेली ८ थान फेला परेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।