झापा

विर्तामोड ८ स्थित देउनियामा श्रीमद्भागवत महापुराणको आयोजना गरिने भएको छ ।  स्थानीय गणेश पञ्चायन मन्दिरको आयोजना र बिर्तामोड ८ नम्बर वडा कार्यालयको समन्वयमा श्रीमद्भागवत महापुराण गर्न लागिएको जनाइएको छ । 

विश्रान्ती घाट निर्माण गर्ने मुख्य उदेश्य सहित बैशाख ६ देखि बैशाख १३ गतेसम्म महापुराणको आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

बिर्तामोड ७, ८ र ९ नम्बर  वडाका बासिन्दाहरुलाई देउनिया खोलामा अन्त्येष्टि गर्न घाटको अभावमा  समस्या परेकाले सबै मनकारी दाताहरुको सहयोगमा विश्रान्ती घाट निर्माण गर्ने पवित्र उदेश्य अनुरुप पुराणको आयोजना गरिएको  बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए । 


विर्तामोड ८ नं वडा र  धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजनामा  गर्न लागिएको पुराणमा संकलन भएको रकमले घाट निमार्ण गरिने जनाइएको छ । 

धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक रहने पुराणबाट संकलित रकम देउनिया खोलाको भेलागुडीमा विश्रान्ती घाट निर्माणार्थ खर्च गरिने छ भने केही रकम मन्दिरको जीर्णोद्धारका लागि खर्च गरिने आयोजकको भनाइ छ ।

वडा कार्यालयले घाट निमार्णकालागि १५ लाख रुपैयाँ विनियोजन गर्ने वडाध्यक्ष कार्कीले जनाएका छन् । 

नगद १० हजारमाथि सहयोग गर्ने दाताबाट संकलन हुने सवै रकम घाट निर्माणमा खर्च हुने गरी जम्मा गरिने मूल आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । उनका अनुसार ९ हजार ९९९ सम्म सहयोग जुटेको रकम पुराणका लागि खर्च गरिने छ ।

विर्तामोड ८ र आसपास जोडिएका अन्य वडाका बासिन्दाको अन्त्येष्टि कर्म गर्ने घाट व्यवस्थित नभएका कारण पुराणमार्फत संकलन हुने रकम र सम्बन्धित वडाबाट सहयोग जुटाएर विश्रान्ती घाट निर्माण गरिने आयोजक समितिका सचिव अनिल गौतमको भनाई छ । 

धेरैभन्दा धेरै भक्तजन सहभागी गराउन बैशाख ६ गतेको कलश यात्राका लागि निःशुल्क यातायातको प्रबन्ध आयोजकले गरेको जनाएका छन् । पुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गर्ने जनाइएको छ ।

प्रमुख वाचक तथा धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनालका अनुसार समाजको पूर्व संकल्प अनुसार १०८ भागवत लगाउने कार्यअन्र्तगत ३४ औं सार्वजनिक संगीतमय पुराणका रूपमा विर्तामोड ८ देउनिया चौकमा सो पुराण लगाइने भएको हो । 

प्रमुख वाचक खनालले मृत्युवरण सवैको हुने हुँदा घाट निर्माणमा हात खोलेर सहयोग गर्न सवै भक्तजनसंग अनुरोध गरेका छन् ।