विराटनगर । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ । बिहीबार आज निकालिएको सिफारिस सूची अनुसार डीआईजीहरुको सरुवा भएको हो ।
डीआईजीहरु गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालीदास धौबजी, कुमार न्यौपाने, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा, दीपक अधिकारी, कृष्ण ढकाल र दीपेन्द्र कुँवरको सरुवा भएको हो ।

सशस्त्रका एआईजी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक० वंशीराज दाहालका अनुसार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा भएको हो । सरुवामा परेकाले अब दरबन्दी कायम भएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्ने उनले बताए ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय सुनसरीको प्रमुखका रूपमा डीआईजी कुमार न्यौपानेको सरुवा भएको छ । उनले अब १४ वटा जिल्ला रहेको कोशी प्रदेशमा १ वर्षसम्म सशस्त्रको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

_1736908732.jpg)
यसअघि न्यौपाने सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । उनी सशस्त्र प्रहरीका प्रवक्तासमेत हुन् ।
कोशी प्रदेशमा सशस्त्रको कमाण्ड गरिरहेका शम्भु सुवेदीको एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौं सरुवा भएको छ । कोशी प्रदेशमा उनको कार्यकाल विवादरहित बन्न सकेन ।

सुवेदीमाथि नेपाल–भारत सीमा क्षेत्रबाट भारी मात्रामा तस्करीको लाइन चलाएको तथा प्रभावकारी ढंगले सशस्त्र प्रहरी परिचालन गर्न नसकेको आरोप लाग्यो । सशस्त्रका प्रमुख नै उपस्थित हुनुपर्ने कार्यक्रममा पनि नपुग्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।
सुवेदीले आफैं घुमुवा परिचालन गरेर तस्करीमा संलग्न गिरोहसँग पैसा असुल्न लगाउने गरेको घटनासमेत सार्वजनिक भएका थिए । सुवेदीका पालामा सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य भूमिका एवं जिम्मेवारीमा रहनुपर्ने सशस्त्र बारम्बार विवादमा आइरहयो ।
सुवेदीभन्दा अघि कोशीमा सशस्त्रको प्रमुख रहेका डीआईजी अञ्जनीकुमार पोखरेलको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । यसअघि उनी एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा कार्यरत थिए ।
पोखरेलले कोशीमा सशस्त्रको कमाण्ड सम्हाल्दा नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी तस्करी र अवैध धन्दा ठप्प पारेका थिए । गलत गतिविधिमा संलग्न सशस्त्र प्रहरी कारबाहीमा समेत परे ।
सशस्त्रभित्र काबिल अफिसको छवि बनाएका पोखरेलले कोशी प्रदेशमा रहँदा सशस्त्रको साख उच्च बनाउन भूमिका खेलेको भनेर प्रशंसासमेत हुने गरेको छ । विवादरहित ढंगले कोशीबाट बिदा भएका उनी नरम स्वभावका र जिम्मेवारीप्रति प्रतिबद्ध डीआईजी भनेर चिनिन्छन् ।